फागुन २०, २०८२, बुधबार

मौन अवधिमा सामाजिक सञ्जालबाट फैलाइएका भ्रामक समाचारप्रति गगन थापाको आपत्ति


Advertisement Image
clock icon 2 hours, 56 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक समाचारप्रति आपत्ति जनाएका छन् ।

सभापति थापाले आफूलगायत नेपाली कांग्रेसका उम्मेद्वारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो ।

थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न अपील गरेका छन्। उनले विशेषगरी फेसबुक, टिकटक, यूटूयूबलगायत माध्यमहरूमा फैलाइने अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गरे।

“कुनै पनि सामग्री शेयर गर्नु अघि एक छिन रोकिनुहोस्, तथ्य जाँच गर्नुहोस्,” थापाको आग्रह छ । उनका अनुसार अत्यधिक भडकाउ र भावनात्मक सामग्री प्रायः भ्रामक हुन सक्छ र यसले मतदातालाई भ्रमित पार्ने उद्देश्य राखेको हुन्छ ।

निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै उनले सत्य, विवेक र नागरिक सचेतनाले मात्र यस्ता भ्रमलाई परास्त गर्न सकिने बताएका छन् ।

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले सबै समर्थक तथा शुभेच्छुकलाई जिम्मेवार सामाजिक सञ्जाल प्रयोगमार्फत सत्यको पक्षमा उभिन आह्वान गरेका छन् ।

यस्तो छ थापाको आह्वान

आदरणीय शुभेच्छुक तथा साथीहरू,

निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत, म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्। यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ। त्यसैले;

* Report गर्नुहोस्: Facebook, TikTok, YouTube लगायत प्लेटफर्ममा म वा पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देख्नुभयो भने तुरुन्तै “Report” गर्नुहोस्।

* Verify गर्नुहोस्: कुनै सामग्री शेयर गर्नु अघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्। अत्यधिक सनसनीपूर्ण वा भडकाउ सामग्री प्रायः भ्रामक हुन सक्छ। सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ।

जय नेपाल !

Copyright © 2024 | All rights reserved.