0
प्रतिक्रिया
पोखरा । इरानले सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगितामा आफ्नो सहभागिता अनिश्चित बनेको जनाएको छ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा हालको राजनीतिक तथा सुरक्षा अवस्थाका कारण सहभागी हुन कठिन भएको इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले बताएका हुन्।
हालै अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि विश्वकपमा इरानको सहभागिता अन्योलमा परेको बताइएको छ।
यता अन्तर्राष्ट्रिय फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत रहेको बताएका थिए।
तर इरानी खेलकुद मन्त्री दुनियामालीले अन्तर्वार्ताका क्रममा आफ्नो देशका नेतामाथि आक्रमण गर्ने सरकार रहेको देशमा गएर खेल्ने अवस्था नरहेको बताएका छन्। उनले यस्तो परिस्थितिमा आफ्ना खेलाडीहरूको सुरक्षा सुनिश्चित नहुने भएकाले सहभागिताबारे स्पष्ट निर्णय गर्न कठिन भएको उल्लेख गरे।
विश्वकप प्रतियोगिता असार २८ गतेदेखि सुरु हुने तालिका रहेको छ। प्रतियोगितामा इरानले असार ३२ गते न्यूजिल्यान्ड, साउन ५ गते बेल्जियम र साउन १० गते इजिप्टसँग खेल्ने कार्यतालिका रहेको थियो।
Copyright © 2024 | All rights reserved.