0
प्रतिक्रिया
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाखदेखि फागुन मसान्तसम्म नेपालभर विभिन्न प्रकारका विपद्का घटना बढ्दै जाँदा मानवीय तथा भौतिक क्षति पनि उल्लेख्य देखिएको छ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त ११ महिनाको अवधिमा देशभर कुल छ हजार ७९९ विपद्का घटना दर्ता भएका छन्।
ती घटनामा परी चार सय ६४ जनाको ज्यान गएको छ भने ३८ जना अझै बेपत्ता छन्। विपद्का कारण एक हजार ८१४ जना घाइते भएका विवरण सार्वजनिक गरिएको छ।
प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार विपद्का कारण १२ हजार ४५८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको छ। देशभर तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यस अवधिमा बाढीका ३१८, पहिरोका ५९०, भारी वर्षाका ४२९, चट्याङका ३६७ र सर्पदंशका ५९२ घटना भएका छन्। यस्तै, डढेलोका २४६ घटना पनि रेकर्ड गरिएको छ।
त्यसैगरी हावाहुरीका २९२, जंगली तथा घरपालुवा जनावरको आक्रमणका ४८८ तथा लेक लाग्ने (हाई अल्टिच्युड सिकनेस) का ११९ घटना भएको तथ्याङ्कमा उल्लेख छ। हिमपहिरोका पाँच, भूकम्पका सात र डुङ्गा पल्टिएका दुई घटना पनि यस अवधिमा घटेका छन्।
प्राधिकरणका अनुसार फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म मात्रै देशका विभिन्न स्थानमा २९ विपद्का घटना भएका छन्।
Copyright © 2024 | All rights reserved.