0
प्रतिक्रिया
पाेखरा । धादिङ-पोखरा सम्पर्क समाजको बैठक तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शनिबार सम्पन्न भएको छ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसिहत बन्दीपुरमा बैठक आयोजना गरिएको समाजले जनाएको छ।
समाजकी अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्ष तथा सल्लाहकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बैठकमा संस्थाले विगतमा सञ्चालन गरेका कार्यक्रम र गतिविधिको विस्तृत समीक्षा गरिएको थियो। बैठकमा सहभागीहरूले समाजले आगामी दिनमा गर्ने कार्यक्रमका सम्बन्धमा आआफ्ना धारणाा राखेका थिए ।
यसका साथै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी, सक्रिय र व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा पनि विचार आदान-प्रदान भएको थियो।
बैठकले भावी कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै समाजका उद्देश्यलाई सशक्त रूपमा अगाडि बढाउने रणनीति तय गरेको समाजका महासचिव प्रकाश दुलालले जानकारी दिए ।
बैठक अघि सहभागीले बन्दीपुरमा निर्माणाधीन ग्रेटवालको अवलोकनसमेत गरेको थियो । ग्रेटवालमा पर्यटकको अकर्षण बढेको व्यवसायी बताउँछन्।
धादिङ २०५१ देखि नै समाजले सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। समाजले विभिन्न सामाजिक कार्यक्रम, सहयोगात्मक गतिविधि तथा शैक्षिक पहलमार्फत समुदायमा सकारात्मक योगदान पुर्याउँदै आएको हो।
धादिङबाट पोखरामा बसोबास गर्ने व्यक्तिहरूलाई एकताबद्ध गर्दै आपसी सहयोग, सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
समाजले विशेषगरी विपन्न तथा आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्ने, विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने तथा सामाजिक जागरणका कार्यक्रमहरू आयोजना गर्दै आएको पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।
यसका साथै समाजले विभिन्न भेटघाट, छलफल तथा सामुदायिक कार्यक्रममार्फत धादिङ र पोखरामा रहेका सदस्यबीच आपसी सम्बन्ध मजबुत बनाउने काम पनि गर्दै आएको छ।
सामाजिक एकता र सहयोगको भावनालाई अझ सुदृढ बनाउँदै समाजले आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर अघि बढाउनुपर्नेमा सल्लाहकार एवं संस्थापक सचिव रामकृष्ण दुवाडीको जोड छ।
Copyright © 2024 | All rights reserved.