0
प्रतिक्रिया
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा विवादमा आएका काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।
मंगलबार उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको सुविधानगरबाट पक्राउ गरेको थियो।
पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले बानेश्वर क्षेत्रमा भएको जेन-जी प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जाने घटनाबारे सोधपुछ गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार रिजाललाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा रिहा गरिएको हो। उनीमाथि अनुसन्धान भने जारी रहने प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। भदौ २३ र २४ गते भएको प्रदर्शनका बेला उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए।
बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको आरोपमा रिजालको चर्को आलोचना भइरहेको छ।
तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष उनले घातक हतियार प्रयोग गरी गोली चलाउन आदेश नदिएको बयान दिएका छन्।
उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
Copyright © 2024 | All rights reserved.