0
प्रतिक्रिया
पोखरा । पोखराको सभागृहचोक नजिकै सिर्जना केसी पौडेलको हत्या गरेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा पर्वत कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियार छन्। जसमा केसी सिर्जनाका भाञ्जा रहेकाे खुलेकाे छ।
केसीलाई रुपन्देहीको बुटवलस्थित मनकामना टोलबाट घटनामा संलग्न रहेको पाइएपछिमा परियारलाई पोखराबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको ग२५प ३०४४ नम्बरको स्कुटर मुस्ताङचोकबाट हत्यामा प्रयोग गरिएको धारिलो हतियार खुँडा पोखरा-१७ बिरौटास्थित तितेपानी जंगलबाट फेला पारेको जनाएको छ।
पौडेलको हत्या पारिवारिक बेमेल तथा सम्पत्तिको विवादका कारण भएको प्रहरीले जनाएको छ।
गत बुधबार साँझ शिवालयचोक नजिकै पछाडिबाट धारिलो हतियार प्रहार गर्दा पोखरा महानगरपालिका-५ जिरो किलोमिटर घर भई हाल वडा नं १८ सेदी बस्दै आएकी पौडेल गम्भीर घाइते भएकी थिइन् ।
उनलाई तत्काल उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । उनकाे उपचारकै क्रममा ज्यान गएको थियो ।
कास्की प्रहरीले अभियुक्तहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता प्रक्रिया अघि बढाएको छ।
साथै घटनामा अन्य व्यक्तिको संलग्नता रहेको छ वा छैन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Copyright © 2024 | All rights reserved.