0
प्रतिक्रिया
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा-मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा ढिलासुस्ती र गुणस्तरहीन काम नगर्न कडा निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा उनले नौबिसे-मलेखु र मलेखु-मुग्लिङ खण्डको प्रगति तथा समस्याबारे विस्तृत जानकारी लिएका थिए ।
सो अवसरमा निर्माण व्यवसायीहरूलाई तोकिएको समयमै उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न निर्देशन दिँदै ढिलाइ सह्य नहुने चेतावनी दिएका हुन् ।
“काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुँदैन, गुणस्तरमा सम्झौता गरियो भने सम्बन्धित कम्पनीलाई तत्काल कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइन्छ,” उनले भने ।
आयोजनाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार निर्माण सामग्री अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ।
विशेषगरी नदीजन्य (ढुङ्गा, गिट्टी, बालुवा) तथा खानीजन्य सामग्री उत्खननमा कानुनी र प्रशासनिक जटिलताका कारण काम प्रभावित भएको उल्लेख गरिएको छ ।
स्थानीय तहको अवरोध, क्रसर उद्योग बन्द हुँदा परेको असर, दोहोरो कर प्रणाली, ढुवानीमा हुने प्रशासनिक झन्झट तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियामा ढिलाइजस्ता कारणले आयोजना प्रभावित भएको जनाइएको छ ।
आयोजनाले बेल्खु बगर, घाटबेसी बगर र मलेखु-लाम बगर क्षेत्रबाट आवश्यक निर्माण सामग्री उपलब्ध गराउन र ढुवानीमा सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ ।
गृहमन्त्री गुरुङले यी समस्या समाधानका लागि अन्तर-मन्त्रालय समन्वयमार्फत सहजीकरण गरिने आश्वासन दिएका छन् ।
साथै उनले विकास निर्माणमा हुने राजनीतिक हस्तक्षेप र प्रशासनिक झन्झट हटाएर काम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
Copyright © 2024 | All rights reserved.