0
प्रतिक्रिया
पर्सा । पर्साको वीरगन्ज महानगरपालिका-९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा कालिका माई गाउँपालिका-१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन्। उनी नेपाल प्रहरीका बहालवाला जवान रहेको प्रहरीले जनाएको छ।
प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार वीरगन्ज-९ मुरलीस्थित एक घरमा व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलमा चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तस्राव भइरहेको अवस्थामा फेला पारिएको थियो।
घाइते अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक चौरसिया वीरगन्जकै मुर्ली क्षेत्रमा डेरा गरी बस्दै आएका थिए। उनी १० दिनको बिदा लिएर घर आएको अवस्थामा उक्त घटना भएको बताइएको छ।
प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार छन्।
घटनाको कारण र प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी बस्नेतले बताएका छन्।
Copyright © 2024 | All rights reserved.