0
प्रतिक्रिया
काठमाडौँ। निजी क्षेत्रका विभिन्न संघ–संगठनमा तीन दशकभन्दा लामो अनुभव बोकेका उद्योगी उमेश डालमीयाले नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला–नगर उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन्। उनले आफ्नो उम्मेद्वारीलाई साना तथा मझौला उद्योगको संरक्षण, नीति सुधार र निजी क्षेत्रको सशक्तीकरणसँग जोडेर प्रस्तुत गरेका छन्।
उम्मेदवारले साना तथा मझौला उद्योगहरू अहिले गम्भीर संकटमा रहेको उल्लेख गर्दै ती उद्योग टिकाइराख्न स्पष्ट नीति अभाव रहेको बताएका छन्।
“जिल्ला–नगर उद्योग वाणिज्य संघहरू आफैं टिक्न गाह्रो अवस्थामा छन्, गोजीको लगानीबाट उद्योग धान्नुपर्ने अवस्था छ,” उनले भनेका छन्। यस समस्याको समाधानका लागि टिकाउ नीति, सहज सञ्चालन वातावरण र संस्थागत सुदृढीकरण आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्।
उनले मेला–महोत्सव सञ्चालनको मोडेलमा पनि सुधार आवश्यक रहेको धारणा राखेका छन्। राजनीतिक दल र तिनका भातृ संगठनले गर्ने कार्यक्रम सांस्कृतिक र सीमित अवधिका हुनुपर्ने, जबकि व्यापारिक स्टलसहितका महोत्सव भने निजी क्षेत्रले मात्र गर्न पाउने गरी स्पष्ट नीति बनाउनुपर्ने उनको प्रस्ताव छ। “निजी क्षेत्रले महोत्सवमार्फत सरकारलाई करोडौं कर तिर्छ, तर अन्य समूहबाट राजस्व आउँदैन,” उनले बताएका छन्।
उम्मेदवारले खुला सिमाना र ‘ग्रे मार्केट’ का कारण स्वदेशी व्यवसाय संकटमा परेको उल्लेख गर्दै कर संरचनामा सुधार गर्नुपर्ने बताएका छन्। भारतसँग कर दर समन्वय गरेर भन्सार दर घटाउने र करको दायरा बढाउने नीति अपनाए राजस्व बढ्ने र पलायन रोक्न सकिने उनको तर्क छ।
वन नीतिमा रहेको जटिलताले उद्योगलाई असर पारेको भन्दै उनले निजी जग्गामा रोपिएका रुख काट्न सहज नीति ल्याउनुपर्ने माग पनि अघि सारेका छन्। “झन्झटिलो प्रक्रियाले उद्योगीलाई भन्दा खर्च बढी पर्न गएको छ,” उनले बताएका छन्।
महासंघभित्र जिल्ला–नगरको आवाज प्रभावकारी रूपमा नउठेको स्वीकार गर्दै उनले पदाधिकारी तहमा पुगेर ती मुद्दा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। “केन्द्रीय सदस्य हुँदा उठाएका आवाज सुनुवाइ भएनन्, अब कार्यान्वयनमै जाने लक्ष्य छ,” उनले भनेका छन्।
आफ्नो विगतको अनुभव उल्लेख गर्दै उनले मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा साना व्यवसायीले भोगेको समस्या समाधानका लागि आफूले नेतृत्वदायी भूमिका खेलेको दाबी गरेका छन्। “निडर र स्पष्ट रूपमा आवाज उठाउने मेरो शैलीले साना व्यवसायीलाई राहत दिलाएको थियो,” उनले भनेका छन्।
महासंघको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनले हालसम्म भएका कामको निरन्तरता आवश्यक रहेको बताएका छन्। साथै निर्वाचनपछि सबै पक्ष एक भएर अघि बढ्ने उनको भनाइ छ।
आफूले साना तथा मझौला उद्योगको समस्या नजिकबाट बुझेको दाबी गर्दै उनले घोषणापत्रमार्फत स्पष्ट नीति र योजना अघि सारेको बताएका छन्। “म जे बोल्छु त्यही गर्छु, निजी क्षेत्रका लागि पूर्ण समय दिन्छु,” उनले भनेका छन्।
Copyright © 2024 | All rights reserved.