बैशाख ०४, २०८३, शुक्रबार

आज आमाको मुख हेर्ने दिन


Advertisement Image
clock icon 1 hour, 39 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व मातातीर्थ औँशी आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। यस दिन जन्मदात्री आमालाई मीठा परिकार खुवाउने, राम्रो लुगा लगाइदिने र आशिर्वाद लिने परम्परा छ।

शास्त्रअनुसार उपाध्याय, पण्डित, आचार्य र पिताभन्दा पनि आमा ठूली मानिएकी छन्। त्यसैले आमाप्रति सम्मान, आदर र भक्ति प्रकट गर्ने विशेष दिनका रूपमा यो पर्वलाई लिइन्छ।

छोराछोरी बिहानै स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, उपहार दिने र आशिर्वाद लिने गर्छन्। यसले परिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

आमा नहुनेहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने चलन छ। यसरी दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पण गरिन्छ।

वैदिक मान्यताअनुसार प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने उल्लेख छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको महत्व उच्च रूपमा व्याख्या गरिएको छ।

सन्तानलाई नौ महिना गर्भमा राखेर जीवन दिने भएकाले आमाको महत्व अत्यन्त ठूलो मानिन्छ। शास्त्रीय ग्रन्थहरूमा बाबुभन्दा आमाको महत्व हजार गुणा बढी रहेको उल्लेख पाइन्छ।

यस अवसरमा काठमाडौँको मातातीर्थ क्षेत्रमा विशेष मेला लाग्ने परम्परा छ। तर, पछिल्ला वर्षहरूमा कोरोना संक्रमणका कारण मेला स्थगित गरिएको थियो।

सामान्य अवस्थामा आमा गुमाएका व्यक्तिहरू मातातीर्थ पुगेर स्नान, हरिहर (विष्णु र शिव)को दर्शन तथा पूजा गर्ने गर्छन्। यसले आमाप्रतिको श्रद्धा प्रकट हुने विश्वास छ।

मातातीर्थ परिसरमा ‘साझा आमा’को प्रतीकात्मक मूर्ति पनि स्थापना गरिएको छ, जसले सबै आमाप्रतिको समान सम्मानको सन्देश दिन्छ।

घरमै बसेर जीवित आमालाई खुसी बनाउनु र दिवङ्गत आमाको सम्झनामा श्रद्धा प्रकट गर्नु नै यस पर्वको मूल सन्देश हो।

Copyright © 2024 | All rights reserved.