0
प्रतिक्रिया
काठमाडौँ । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ भने पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली सक्रिय रहेको छ। यही प्रभावका कारण अहिले देशका अधिकांश स्थानमा बाक्लो बदली छाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि यस्तै खालको वर्षा जारी रहेको छ भने मधेस र सुदूरपश्चिमका एक–दुई स्थानमा समेत मेघगर्जनसहित वर्षा भइरहेको छ।
आज दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी र मधेस प्रदेशका साथै पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज रातिको अवस्थामा भने हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा राति पनि वर्षा जारी रहन सक्ने र उच्च स्थानमा हिमपातको सम्भावना कायमै रहेको जनाएको छ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ र हुरीको जोखिम भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
Copyright © 2024 | All rights reserved.