साउन १४, २०८३, बिहीबार

पोखरा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, सरस्वती लालचन ‘प्रतीक्षा’ कुलपति नियुक्त


Advertisement Image
clock icon 11 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको छ। नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतीक्षा’, उपकुलपतिमा तिलक पुर्जा पुन मगर र सदस्य-सचिवमा जीवन दाहाललाई नियुक्त गरेका हुन्।

त्यसैगरी, प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ, हरेराम जोजेजु, दिलीप गायक र प्रमीला ताम्राकार तुलाचन मनोनित भएका छन्।

प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरुङ, नवराज अधिकारी, प्रेमराज अधिकारी, भास्करध्वज श्रेष्ठ, रवीन्द्र माकाजु, रिता पाहारी र शिवहरि ढुङ्गाना चयन भएका छन्।

नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानमार्फत पोखरा महानगरपालिकाको साहित्य, कला, संस्कृति, भाषा तथा समग्र प्राज्ञिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतिष्ठानका गतिविधिलाई प्रभावकारी बनाउन कार्यालय व्यवस्थापन, कानूनी आधार र बजेटको व्यवस्था गरिएको पनि उनले बताए।

उपप्रमुख मञ्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले पोखराको साहित्य, कला, भाषा र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै महानगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने बताइन्।

नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ले आफूहरूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै पोखरा प्रज्ञा प्रतिष्ठानलाई देशकै नमुना प्राज्ञिक संस्थाका रूपमा स्थापित गर्न आफूहरू समर्पित भएर लाग्ने बताइन्।

पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन-२०८२) बमोजिम पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयन गरेको हो।

Copyright © 2024 | All rights reserved.