बैशाख १७, २०८३, बिहीबार

आज नृसिंह जयन्ती मनाइँदै


Advertisement Image
clock icon 1 hour, 32 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज वैशाखशुक्ल चतुर्दशीका दिन भगवान् विष्णुको चौथो अवतारका रूपमा नृसिंह जयन्ती श्रद्धापूर्वक मनाइँदै छ।

धार्मिक मान्यताअनुसार आफ्ना परम भक्त प्रह्लादको रक्षा गर्न र अभिमानी दैत्यराज हिरण्यकश्यपको संहार गर्नका लागि भगवान् विष्णुले यसै दिन नृसिंह अवतार धारण गरेका थिए।

हिरण्यकश्यपुले ब्रह्माबाट घरको भित्र वा बाहिर, दिन वा रात, अस्त्र वा शस्त्र र मानव वा पशु कसैबाट पनि नमर्ने वरदान पाएपछि तीनै लोकमा अत्याचार मच्चाएका थिए।

अहङ्कार चरम सीमामा पुगेपछि उनले सृष्टिको स्वामी आफू नै भएको दाबी गर्दै आफ्नै छोरा प्रह्लादलाई समेत हरिभक्तिका कारण बारम्बार मृत्युदण्ड दिन खोजेका थिए।

तर प्रह्लादको अटल विश्वास र भक्ति अघि सबै प्रयास विफल भए। हात्तीले कुल्चाउँदा होस् वा समुद्रमा बगाउँदा उनी सुरक्षित नै रहे।

अन्ततः हिरण्यकश्यपुले आफ्नै अगाडि ईश्वर देखाउन चुनौती दिएपछि खम्बा चिरेर आधा सिंह र आधा मानव स्वरूपमा भगवान् नृसिंह प्रकट भए।

सन्ध्याकालमा, घरको संघारमा, आफ्नै काखमा राखी नङ्ग्राको सहायताले हिरण्यकश्यपुको वध गर्दै ब्रह्माजीको वरदानलाई समेत अक्षुण्ण राखिएको पौराणिक कथामा वर्णन गरिएको छ।

यसरी असत्यमाथि सत्यको विजय भएको यस पावन दिनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष पूजा, आराधना र व्रतका साथ मनाउने गर्छन्।

नृसिंहको उग्र रूपलाई अन्ततः प्रह्लादको भक्तिपूर्ण प्रार्थनाले मात्र शान्त बनाएको उल्लेख पाइन्छ, जसले ईश्वर सर्वत्र रहेको र सच्चा भक्तिको शक्ति अजेय हुने सन्देश दिन्छ।

Copyright © 2024 | All rights reserved.