बैशाख १७, २०८३, बिहीबार

पोखरामा नक्सा पास नगरी निर्माण भएका घर तथा भवनलाई वैधानिक दायरामा ल्याउन विशेष अभियान सञ्चालन


Advertisement Image
clock icon 2 hours, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगर क्षेत्रभित्र साबिकमा नक्सा पास नगरी निर्माण भइसकेका घर तथा भवनहरू स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम १०२ बमोजिम भवन नियमित तथा अभिलेखीकरण कार्यविधि २०८० (दोस्रो संशोधन २०८२) अनुसार नक्सा पास र सम्पन्न प्रमाण पत्र नभएका घर तथा भवनहरूको हकमा नक्सा पाससहित सम्पन्न प्रमाणपत्र प्रदान गर्ने प्रक्रिया अभियानका रूपमा सञ्चालनमा छ ।

नगरवासीहरूको सुविधाका लागि पोखरा महानगरपालिकाले यही वैशाख १२ गतेदेखि २१ गतेसम्मका लागि प्लिन्थ क्षेत्रफल २००० वर्ग फिटका तीन तल्लासम्मका घर तथा भवनहरूको सम्बन्धित वडा कार्यालयहरूमा र सो भन्दा बढी क्षेत्रफल र तल्ला भएका घर तथा भवनहरूको महानगरपालिकाको घर नक्सा तथा अभिलेखीकरण शाखाबाट भवन निर्माण नियमित तथा अभिलेखीकरण, नक्सा पास र सम्पन्न प्रमाणपत्र सेवा प्रदान गरिरहेको छ । 

यस सन्दर्भमा पोखरा महानगरपालिका भवन नियमित/अभिलेखीकरण सम्बन्धमा सहजीकरण गर्न गठित समितिको आयोजनामा पोखरामा रहेको बैङ्क तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल भएको छ । 

छलफलका क्रममा नगर प्रमुख धनराज आचार्यले घर तथा भवनहरूको नक्सा पास र सम्पन्न प्रमाणपत्र नभएको हकमा कानून बमोजिम पर्न सक्ने जटिलता र कठिनाइहरूका बारेमा स्पष्ट पारेका थिए ।

उनले यस्तो अवस्थामा जग्गाको सम्पत्ति कर, मालपोत तथा भूमिकर तिर्न, घर जग्गा नामसारी, बेचबिखन जस्ता सेवा सुविधाहरू सिफारिस गर्न कानुनतः बाधा पर्ने बताए। 

समितिका संयोजक पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको छलफलमा नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र पोखरामा क्रियाशील बैङ्क तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

छलफलमा महानगरपालिकाको अभिलेखीकरण शाखाका प्रमुख इन्जिनियर रविचन्द्र घिमिरेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी महानगरपालिकाको सप्ताहव्यापी अभियानको बारेमा जानकारी गराएका थिए भने, राजश्व महाशाखाका दीपेन्द्र पण्डितले सहजीकरण गरेका थिए।

Copyright © 2024 | All rights reserved.