जेठ १८, २०८३, सोमबार

पोखरामा जेठ २९ देखि विश्वविद्यालय सुपरकप फुटबल, विजेतालाई १ लाख १५ हजार रुपैयाँ


Advertisement Image
clock icon 1 hour, 51 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता-२०८३ को तेस्रो संस्करण जेठ २९ गतेदेखि असार ५ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ।

नेपालभरका विश्वविद्यालय स्तरीय कलेजहरूलाई खेलकुदमार्फत जोड्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पोखरा विश्वविद्यालय फुटबल क्लब (पियुएफसी) ले जनाएको छ।

कास्कीको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा हुने प्रतियोगितामा विजेता टोलीले १ लाख १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई ७० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

क्लबका अध्यक्ष विमान प्रधानले विश्वविद्यालयस्तरीय कलेजहरूबीच खेलकुदमार्फत सम्बन्ध विस्तार गर्दै प्रतिस्पर्धात्मक वातावरण विकास गर्ने लक्ष्यका साथ प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न लागिएको बताए।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उदयीमान खेलाडीलाई जनही २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।

क्वार्टरफाइनल चरणदेखि प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

प्रतियोगितामा नेपालभरका ब्याचलर्स तथा मास्टर्स तहका कक्षा सञ्चालन भइरहेका कलेज तथा शैक्षिक संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागी टोलीका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

टोली दर्ताको अन्तिम मिति जेठ २७ गते तोकिएको छ भने टाइ-सिट ड्र जेठ २८ गते गरिनेछ।

आयोजकका अनुसार प्रतियोगिताले विश्वविद्यालयस्तरका खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नेछ। निर्धारित समयभित्र टोली दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन सबै कलेज तथा शैक्षिक संस्थालाई आग्रह गरिएको छ।

पियुएफसीले प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै विश्वविद्यालयस्तरीय फुटबल संस्कृतिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

Copyright © 2024 | All rights reserved.