0
प्रतिक्रिया
पोखरा । पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ।
संस्थाले स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रममा शेयर सदस्य, सञ्चालक, कर्मचारी, शुभेच्छुक तथा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सlनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मनोज विश्वकर्माले गरेका थिए।
कोषाध्यक्ष श्रीजन श्रेष्ठले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए।
रगत अभावका कारण कुनै पनि बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले संस्थाले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
उनले जेठ २० गते समापन समारोहका अवसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारीसमेत दिए।
संस्थाका व्यवस्थापक जीवन अधिकारीका अनुसार ७ करोड ५० लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीमा हाल १ हजार ३४४ जना शेयर सदस्य आबद्ध छन्।
सहकारीले पोखरा-८ पृथ्वीचोक र पोखरा-१४ चाउथेस्थित बीपी मार्गबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।
सहकारी क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला पनि संस्थाले नियामक निकायको निर्देशन र नियमनअनुसार वित्तीय तथा सामाजिक गतिविधि नियमित रूपमा सञ्चालन गरिरहेको अध्यक्ष तिमिल्सीनाले बताए।
उनले सदस्यको भावना र आवश्यकताअनुरूप अझ प्रभावकारी र सुदृढ सेवा प्रवाह गर्न संस्था प्रतिबद्ध रहेको उल्लेख गरे।
Copyright © 2024 | All rights reserved.