जेठ २१, २०८३, बिहीबार

कुशल चम्किँदा मलेसिया १६७ रनले पराजित


Advertisement Image
clock icon 1 hour, 18 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपालले एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगितामा मलेसियालाई १६७ रनले पराजित गरेको छ।

सिंगापुरमा बिहीबार भएको खेलमा जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेता बनेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो। जवाफमा मलेसिया ९ विकेट गुमाएर १०८ रनमै सीमित भयो।

नेपालका लागि कुशल भुर्तेलले १२६ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले अघिल्लो खेलमा चीनविरुद्ध पनि १२९ रन बनाएका थिए। लगातार दुई खेलमा शतक बनाएसँगै कुशल ट्वान्टी-२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक बनाउने विश्वका दशौं ब्याटर बनेका छन्।

यस क्रममा उनले अर्को कीर्तिमान पनि बनाए। ७८ खेलमा २ हजार २४० रन पूरा गर्दै कुशल ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने। उनले ९८ खेलमा २ हजार २११ रन बनाएका दीपेन्द्रसिंह ऐरीलाई पछि पारे।

कुशल ट्वान्टी-२० अन्तर्राष्ट्रियमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेका छन्। यसअघि उनले सन् २०२२ मा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाएका थिए।

नेपाललाई कुशल र आसिफ शेखले बलियो शुरूआत दिलाएका थिए। दुवैले पहिलो विकेटका लागि ९ ओभरभित्र १३४ रनको साझेदारी गरे। आसिफले २४ बलमा ६८ रन बनाए। उनले ५ चौका र ७ छक्का प्रहार गरे।

यस्तै दीपेन्द्रसिंह ऐरीले ३१, सन्दीप जोराले १५, लोकेश बमले १० रन बनाए। कुशल मल्ल ९ रनमा अविजित रहे। रोहित पौडेल शून्य तथा करण केसी ७ रनमा आउट भए।

मलेसियाका वीरनदिप सिंहले ३ विकेट लिए भने विजय उन्नी र सैयद अजिजले समान २-२ विकेट लिए।

२७६ रनको लक्ष्य पछ्याएको मलेसियाले राम्रो सुरुआत गर्न सकेन। ८ ओभरमै ५ विकेट गुमाएर ३८ रन बनाएको मलेसियाका लागि कप्तान सैयद अजिजले सर्वाधिक ५४ रन बनाए। शर्विन मुनिएन्डीले १८ र मोहम्मद एइमानले १३ रन जोडे।

नेपालका शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक-एक विकेट लिए।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा चीनलाई २२१ रनले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै नेपाल समूह विजेता बन्दै अर्को चरणमा पुगेको छ।

Copyright © 2024 | All rights reserved.