साउन ०४, २०८३, सोमबार

महाकाव्यकार जनार्दन शरण त्रिपाठीको ८३औँ जन्मजयन्तीमा साहित्यिक योगदानको स्मरण


Advertisement Image
clock icon 12 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा, साउन २ । महाकाव्यकार स्वर्गीय जनार्दन शरण त्रिपाठीको ८३औँ जन्मजयन्तीका अवसरमा हेमजा साहित्य प्रतिष्ठान नेपालले शनिबार स्मृति सभा तथा व्यक्तित्व परिचर्चा कार्यक्रम आयोजना गरेको छ।

प्रतिष्ठानको कार्यालय एमएसडी सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि माधवशरण बाँस्तोला, पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठी, प्रतिष्ठानका पूर्वअध्यक्ष कृष्णप्रसाद पौडेल, संस्थापक सचिव तथा परिकल्पनाकार कोविदशरण उपाध्याय र मधुसुदन त्रिपाठीलगायतले स्वर्गीय त्रिपाठीको साहित्यिक योगदान, व्यक्तित्व र सिर्जनशीलताबारे चर्चा गरेका थिए।

वक्ताहरूले जनार्दन शरण त्रिपाठी नेपाली महाकाव्य साहित्यका विशिष्ट स्रष्टा भएको उल्लेख गर्दै उहाँको मौलिक लेखनशैली, साहित्यप्रतिको समर्पण र सिर्जनाले नेपाली साहित्यलाई समृद्ध बनाएको बताए। उहाँका कृतिहरूले भावी पुस्तालाई साहित्य सिर्जनातर्फ प्रेरित गर्ने विश्वास पनि उनीहरूले व्यक्त गरे।

कार्यक्रममा स्वर्गीय त्रिपाठीका पुत्र अरुणस्तोम त्रिपाठीले स्मृति कार्यक्रम आयोजना गरेकोमा हेमजा साहित्य प्रतिष्ठान नेपालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष बलराम पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सोमनाथ गौतमले गरेका थिए।

कार्यक्रममा साहित्यप्रेमी, बुद्धिजीवी, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वर्गीय जनार्दन शरण त्रिपाठीका कृतिहरूको संरक्षण, अध्ययन र प्रवर्द्धनमा सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

Copyright © 2024 | All rights reserved.