0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका-५ राधाकृष्ण मार्गस्थित सहनशील महिला समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार बिहान पोखरा-२५ हेमजास्थित मानव सेवा आश्रममा आश्रित एक सय ६८ जनालाई एक छाक भोजन गराएको छ।
समूहले करिब २५ हजार रुपैयाँ बराबरको भोजन सेवा उपलब्ध गराएको हो। आश्रममा आश्रित असहाय, बेवारिसे तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई भोजन गराएर समूहले मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
कार्यक्रममा समूहकी अध्यक्ष मनु बास्तोलाले समाजका असहाय र अभिभावकविहीन नागरिकप्रति सहयोग र सेवाको भावना विस्तार गर्ने उद्देश्यले भोजन कार्यक्रम आयोजना गरिएको बताइन्।
उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिइने जानकारी दिइन्।
समूहकी निवर्तमान अध्यक्ष विजयलक्ष्मी कोइरालाले मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको उल्लेख गर्दै समाजका असहाय, अभिभावकविहीन तथा सडक आश्रित नागरिकप्रति सहयोग र आत्मीयता देखाउनु प्रत्येक नागरिकको साझा दायित्व भएको बताइन्।
उनले सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले यस्ता सेवामूलक अभियानमा सबैको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिन्।
मानव सेवा आश्रमले वर्षौंदेखि असहाय, बेवारिसे तथा सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकलाई आश्रय, भोजन, स्वास्थ्य उपचार र सम्मानजनक जीवन प्रदान गर्दै आएको भन्दै आश्रमका संस्थापक, सञ्चालक, कर्मचारी, स्वयंसेवक तथा सहयोगी दाताहरूप्रति विशेष धन्यवाद व्यक्त गरिन्।
"हामीले आज गरेको यो सानो सहयोग सम्भव बनाउन साथ दिने सम्पूर्ण सदस्य, सहयोगी मनहरू तथा मानव सेवा आश्रम परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनमा पनि यस्ता सामाजिक र मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा सहयोग र सद्भावको संस्कार फैलाउन हाम्रो समूह प्रतिबद्ध रहनेछ," उनले भनिन्।
मानव सेवा आश्रमले विभिन्न ठाउँबाट उद्धार गरिएका असहाय, बेवारिसे तथा सडक आश्रित नागरिकलाई आश्रय, भोजन, स्वास्थ्य उपचार र संरक्षण प्रदान गर्दै आएको छ।
Copyright © 2024 | All rights reserved.