0
प्रतिक्रिया
पोखरा । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पर्यटकीय नगरी पोखरामा विशेष कार्यक्रम आयोजना गरी योगको महत्वबारे जनचेतना फैलाइएको छ।
काठमाडौँस्थित भारतीय दूतावासको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको महत्वलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा दक्ष योग प्रशिक्षकहरूले सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम तथा ध्यानका विधिहरूको अभ्यास गराएका थिए।
आयोजकका अनुसार योगले स्वस्थ जीवनशैली निर्माण गर्न, मानसिक तनाव कम गर्न तथा शारीरिक तन्दुरुस्ती कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको छ।
भारतीय दूतावासले हरेक वर्ष नेपालका विभिन्न सहरमा योग दिवसका अवसरमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विश्वभर जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने भए पनि त्यसको पूर्वसन्ध्या तथा साताव्यापी कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा योग शिविर, अभ्यास सत्र तथा चेतनामूलक कार्यक्रमहरू आयोजना भइरहेका छन्।
पोखरामा सम्पन्न यस कार्यक्रमले योगमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिल्नुका साथै नेपाल-भारतबीचको प्राचीन सांस्कृतिक सम्बन्ध र योगको साझा विरासतलाई थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।
विश्व योग दिवसका अवसरमा महानगर प्रमुख आचार्यले योगलाई दैनिक जीवनको अभिन्न अभ्यासका रूपमा अपनाउन सबैमा आग्रह गरेका छन् ।
उनले नियमित योग अभ्यासले स्वस्थ, अनुशासित र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
“स्वस्थ नागरिक, समृद्ध समाजको आधार: नियमित योग अभ्यास” भन्ने सन्देशसहित महानगरले नागरिकलाई योगप्रति जागरूक हुँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेको छ ।
महानगरपालिकाले नगर क्षेत्रमा योगलाई प्रवर्द्धन गर्न टोलस्तरमा सञ्चालन भइरहेका योग गतिविधिहरूलाई व्यवस्थित गर्न आर्थिक तथा भौतिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उनले बताए ।
Copyright © 2024 | All rights reserved.