0
प्रतिक्रिया
पोखरा। नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरे।
नगर प्रमुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल-इजरायल सम्बन्ध तथा पोखरा र इजरायलबीच साझा हितका विभिन्न विषयमा छलफल भयो। भेटमा पर्यटन, कृषि, प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र सीप आदान-प्रदानका विषयमा विशेष रूपमा विचार–विमर्श गरियो।
नगर प्रमुख आचार्यले महानगरपालिकाका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य विस्तार गर्न तथा नयाँ अवसर सिर्जना गर्न आवश्यक समन्वय गरिदिन राजदूतसँग आग्रह गरे।
आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट पोखरासहित समग्र नेपाल लाभान्वित हुने उनले बताए।
राजदूत श्मुलिक एरी बासले इजरायलको आधुनिक कृषि प्रणालीअन्तर्गत सञ्चालन भइरहेको ‘सिक्दै कमाउने’ कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको बताए।
इजरायलको प्रविधिमैत्री तथा आधुनिक कृषि प्रणालीबाट नेपालले समेत लाभ लिन सक्ने धारणा उनले व्यक्त गरे।
भेटवार्तामा पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्ने तथा पोखरा र इजरायलबीच सिधा हवाई उडान सञ्चालनको सम्भावनाबारे पनि छलफल भयो।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा सहकार्य महत्वपूर्ण हुने आचार्यले बताए।
भेटवार्तामा प्राविधिक सहयोग, पारस्परिक हित तथा अन्य साझा विषयमा पनि छलफल भयो।
कार्यक्रममा नगर उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी तथा महानगरपालिकाको वैदेशिक विभाग समन्वय प्रमुख सुवास ढुंगानालगायतको सहभागिता रहेको थियो।
Copyright © 2024 | All rights reserved.