साउन ०८, २०८३, शुक्रबार

पोखराको पुरानो टुँडिखेलमा ऐतिहासिक टुँडिखेल तीज महोत्सव हुने


Advertisement Image
clock icon 1 hour, 56 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका-१ स्थित पुरानो टुँडिखेलमा ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव-२०८३’ आयोजना हुने भएको छ।

इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा-१ को आयोजनामा हुने महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय निकाय, सरोकारवाला, विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, क्लब तथा स्थानीयवासीसँग छलफल तथा सुझाव संकलन गरिएको छ। कार्यक्रममा सहभागीहरूले महोत्सव सफल बनाउन आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले करिब दुई दशकदेखि तीजगीत प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए।

उनले २०७६ सालमा पहिलो पटक तीज मेला आयोजना गरिएको र कोरोना महामारीका कारण दुई वर्ष रोकिएपछि त्यसलाई महोत्सवका रूपमा निरन्तर सञ्चालन गर्दै आएको बताए। महोत्सवको मिति भने केही दिनभित्र सार्वजनिक गरिने उनको भनाइ छ।

अध्यक्ष अधिकारीका अनुसार महोत्सवबाट संकलन हुने रकम पोखरा-१ को गाईघाट क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवन निर्माणमा आर्थिक सहयोग जुटाउन उपयोग गरिनेछ।

महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहिणी नृत्य प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता तथा गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगिता सञ्चालन गरिनेछ। साथै दैनिक उपभोग्य सामग्री, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडा, रेस्टुरेन्टलगायतका विभिन्न स्टल रहनेछन्।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, बाल उद्यानसहित विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएको छ।

Copyright © 2024 | All rights reserved.