साउन १४, २०८३, बिहीबार

कास्कीमा र्‍याली, जुलुस र सभाका लागि प्रशासनको पूर्वस्वीकृति अनिवार्य


Advertisement Image
clock icon 1 hour, 38 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलमा र्‍याली, जुलुस, सभा तथा अन्य कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा पछिल्लो समय विभिन्न राजनीतिक विचारधारा, धार्मिक तथा सांस्कृतिक समूह वा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृतिबिना सडक, बजारलगायत सार्वजनिक स्थलमा कार्यक्रम आयोजना गर्ने तथा स्वीकृति नलिईकन पनि अनुमति प्राप्त भएको भन्दै भ्रामक सूचना फैलाउने गतिविधि बढेकोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

प्रशासनका अनुसार यस्ता गतिविधिले राजनीतिक, धार्मिक, सांस्कृतिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने जोखिम रहेको छ। साथै सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममार्फत भ्रम फैलाउने प्रयाससमेत भइरहेको भन्दै सचेत गराइएको छ।

नेपालको संविधानले नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार सुनिश्चित गरेको भए पनि सार्वजनिक प्रदर्शन, र्‍याली, सभा वा यस्तै प्रकृतिका राजनीतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्नुअघि स्थानीय प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले सूचनाको उल्लङ्घन गर्दै अनुमति नलिई यस्ता गतिविधि सञ्चालन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

Copyright © 2024 | All rights reserved.