बैशाख ०३, २०८३, बिहीबार

कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग


Advertisement Image
clock icon 10 hours, 33 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्का सँग सात दिने स्पष्टीकरण माग्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा संयोजक तारामान गुरुङ को संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिले २०८२ चैत १४ गते अनधिकृत रूपमा नक्कली लेटरप्याड प्रयोग गरी पार्टी जिम्मेवारीसम्बन्धी भ्रामक प्रेस विज्ञप्ति जारी गरिएको विषयमा यसअघि नै सचेत गराइसकेको जनाएको छ।

तर चेतावनीपछि पनि २०८२ चैत ३० गते पुनः नक्कली लेटरप्याड प्रयोग गरी अर्को अनधिकृत विज्ञप्ति जारी गरिएको पाइएकाले उक्त कार्य पार्टी विधानविपरीत भएको ठहर गरिएको समितिले जनाएको छ।

समितिका अनुसार नेपाली कांग्रेस को विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा ८ (घ) बमोजिम खड्कासँग ७ दिने स्पष्टिकरण मागिएको हो।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा अनुशासन उल्लंघनसम्बन्धी उजुरी पठाउने म्याद २०८३ वैशाख मसान्तसम्म थप गरिएको छ। यसअघि तय गरिएको चैत मसान्तको समयसीमा विस्तार गरिएको समितिले जनाएको छ।

समितिले नयाँ समयसीमाभित्र प्राप्त उजुरीहरूमाथि मात्र कारबाही हुने र त्यसपछि आउने उजुरीहरूमा कुनै प्रक्रिया अघि नबढाइने स्पष्ट गरेको छ।

Copyright © 2024 | All rights reserved.