बैशाख २३, २०८३, बुधबार

‘जेसीस सप्ताह’ मा जुट्यो पोखरा लेडी जेसीस, पोखरा र मादीमा सामाजिक तथा शैक्षिक कार्यक्रम गरिँदै


Advertisement Image
clock icon 1 hour, 29 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा लेडी जेसीसले जेसीस सप्ताह २०२६ अन्तर्गत सात दिनसम्म विविध सामाजिक, शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै संस्थाले सप्ताहभरका कार्यक्रम, स्थान र संयोजकबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो । सबै कार्यक्रम सम्पन्न गर्न मूल संयोजकमा विनिता केसी तोकिएकी छन्।

पहिलो दिनको कार्यक्रम साइबर अपराध एवं बैंकिङ साक्षरता कार्यक्रम पोखरा-३ स्थित कन्या क्याम्पसको सभा हलमा सम्पन्न हुँदैछ। जसको कार्यक्रम संयोजक सन्तोषी अर्याल रहेकी छन्।

दोस्रो दिनको कार्यक्रम निःशुल्क स्वास्थ्य शिविर मादी गाउँपालिका वडा नं ६ को श्री महारुद्र माध्यमिक विद्यालय ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई लक्षित गर्दै तय भएको छ।

जसको कार्यक्रम संयोजक डा नमिता अधिकारी रहेकी छन् भने तेस्रो दिनको कार्यक्रम माइनोट लेखन तथा वित्तीय साक्षरता तालिम पोखरा-२० को सभाहलमा विभिन्न संघसंस्थाका पदाधिकारीहरूलाई लक्षित गरी आयोजना गरिएको छ। जसको कार्यक्रम संयोजक अन्जना सुवेदी रहेकी छन्।

यस्तै चौथो दिनको कार्यक्रम कृषि स्वास्थ्य सचेतना पोखरा-१९ को सभाहलमा सञ्चालन गरिने भएको छ जसको कार्यक्रम संयोजक सरिता भुजेल रहेकी छन्।

पाँचौं दिनको कार्यक्रम विद्यालय पोषक वितरण पोखरा महानगरपालिका वडा नं ३० मा सञ्चालन गरिनेछ र सोही दिनको कार्यक्रम लेखा व्यवस्थापन तथा उद्घोषण तालिम पनि सोही ठाउँमा विभिन्न संघसंस्थाका कोषाध्यक्ष र सचिवलाई लक्षित गरी सञ्चालन गरिने भएको छ । यी दुवै कार्यक्रमका कार्यक्रम संयोजकहरू क्रमशः शारदा लामिछाने र दुर्गा तिलिजा रहेका छन् ।

अन्तिम दिनको कार्यक्रम पोखरा-२५ का समुदायहरुलाई समेटी प्रजनन स्वास्थ्य तथा बाझोपनसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ यस कार्यक्रमको कार्यक्रम संयोजक एली शाह भुजेल छन्।

सोही दिन बेलुका लेकसाइडस्थित बीजीबी रिसोर्टमा हुने समापन कार्यक्रम शुभद्रा बरालको संयोजकत्वमा हुने संस्थाका पोखरा लेडी जेसीसका अध्यक्ष सुनिता गौतम भण्डारीले जानकारी दिइन्।

संस्थाका अनुसार सप्ताहभरका कार्यक्रमहरू पोखराका विभिन्न वडासहित मादी गाउँपालिकामा सञ्चालन गरिनेछन् । प्रत्येक कार्यक्रमका लागि छुट्टाछुट्टै संयोजक तोकिएको छ, जसले आआफ्नो जिम्मेवारीअनुसार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नेछन् ।

विगतका वर्षहरूमा पनि संस्थाले रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ अभियान र शैक्षिक सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो । ती गतिविधिले समुदायमा सकारात्मक प्रभाव पारेको अनुभवका आधारमा यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र परिणाममुखी बनाइएको संस्थाले जनाएको छ ।

जेसीस सप्ताहलाई सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र समुदायसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिइएको छ।

यस प्रकारका कार्यक्रमले स्थानीय तहमा जनसहभागिता बढाउनुका साथै सामाजिक सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

कार्यक्रममा अध्यक्ष भण्डारी, मूल संयोजक केसी, उपाध्यक्ष डा नमिता अधिकारी, कोषाध्यक्ष रेजिना कट्वाल क्षेत्री, महासचिव सिर्जना आले “ईसा” लगायतले बोलेका थिए ।

सन् १९८९ मा स्थापना भएको पोखरा लेडी जेसीज १८ देखि ४० वर्ष उमेर समूहका सक्रिय महिलाहरूको सशक्त संस्था हो।

विधिको शासन र विश्व बन्धुत्वको भावना आत्मसात् गर्दै सदस्यहरूको व्यक्तित्व तथा नेतृत्व विकाससँगै समुदायमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएकोछ।

Copyright © 2024 | All rights reserved.