साउन १८, २०८३, सोमबार

निगमले बढायो पेट्रोलको भाउ, कति पुग्यो?


Advertisement Image
clock icon 58 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। नयाँ मूल्य सोमबारदेखि लागू हुने निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ। यससँगै काठमाडौँ, पोखरा र दिपायलसहित तेस्रो वर्गका क्षेत्रमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर दुई सय रुपैयाँ पुगेको छ।

पहिलो वर्गमा पेट्रोल १९७दशमलव५० र डिजेल १९७दशमलव५० रुपैयाँ तथा दोस्रो वर्गमा दुवैको मूल्य एक सय ९९ रुपैयाँ कायम गरिएको छ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएर दुई सय ४९ रुपैयाँ पुर्‍याएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौँका लागि प्रतिकिलोलिटर एक सय ३१ अमेरिकी डलर मूल्य वृद्धि गरिएको छ भने पोखरा र भैरहवामा नाफा-नोक्सानरहित (ब्रेक-इभेन) मूल्य कायम गरिएको छ।

एलपी ग्यासको मूल्य भने प्रतिग्यास सिलिन्डर दुई हजार ६० रुपैयाँ नै यथावत् राखिएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २०दशमलव१९ रुपैयाँ, डिजेलमा ३९दशमलव६७ रुपैयाँ र हवाई इन्धनमा १९दशमलव०६ रुपैयाँले लागत बढेको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी सीमित मात्र मूल्य समायोजन गरिएको हो।

मूल्य वृद्धि गर्दा पनि निगमलाई आगामी १५ दिनमा करिब एक अर्ब ४९ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब कायम रहेकाले पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न उपभोक्तासँग आग्रह गरेको छ।

Copyright © 2024 | All rights reserved.