बैशाख २४, २०८३, बिहीबार

जन्ती सवार जीप दुर्घटना, पाँच घाइतेमध्ये एक गम्भीर


Advertisement Image
clock icon 48 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

रामेछाप । सिन्धुलीको दूधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो दूधौली नगरपालिका-१ राँगेस्थित घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

फिक्कल गाउँपालिका-१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट-रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको गाडीले अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेका छन् ।

दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको सिर्थौली अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूको स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रारम्भिक अनुमानमा तीव्र गति र घुम्ती सडकका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने बताइएको छ ।

Copyright © 2024 | All rights reserved.