0
प्रतिक्रिया
काठमाडौँ । उत्कृष्ट लयमा रहेको नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय शृंखलामा शानदार ब्याटिङ प्रदर्शन गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनायो । यो टीयू मैदानमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै उच्च योगफल हो ।
नेपालका लागि डा. इशान पाण्डे र उपकप्तान दीपेन्द्र सिंह ऐरी चम्किए । लगातार दोस्रो अर्धशतक बनाउने क्रममा इशानले ८३ बलमा ८४ रनको शानदार इनिङ्स खेले । उनले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरे । रोहितले ४६ रनको योगदान दिए ।
मध्यक्रममा विस्फोटक ब्याटिङ गरेका दीपेन्द्रले मात्र २९ बलमा अर्धशतक पूरा गरे । उनले ३६ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाएर रनआउट भए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको नवौँ अर्धशतक हो ।
ओपनर आसिफ शेखले ४३ रन बनाए भने कुशल भुर्तेलले २९ रन जोडे । अन्तिमतिर आरिफ शेखले १० बलमा अविजित १८ रन थप्दै नेपालको स्कोर मजबुत बनाए ।
नेपाल यो खेल जित्दै शृंखलामा चारमध्ये तीन जित निकालेर अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाउन चाहन्छ ।
यसअघि नेपालले अमेरिकालाई ९ विकेटले र स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो । पहिलो खेलमा भने वर्षाले प्रभावित खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको थियो ।
लगातार दुई जितपछि नेपाल २७ खेलबाट २२ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ । अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड पनि ३२ खेलबाट समान ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालका लागि विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना अझै जीवित छ । यद्यपि त्यसका लागि बाँकी सबै खेल जित्नुपर्ने दबाब टोलीमाथि रहेको छ । साथै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न नेपाल शीर्ष ६ भित्र रहनैपर्ने चुनौतीमा छ ।
Copyright © 2024 | All rights reserved.