असार २०, २०८३, शनिबार

विश्वकपको अन्तिम १६ समीकरण पूरा


Advertisement Image
clock icon 1 hour, 44 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत अन्तिम खेलमा घानालाई १-० ले पराजित गर्दै कोलम्बियाले अन्तिम १६ मा स्थान सुरक्षित गरेसँगै प्रतियोगिताको प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ। अब उपाधि होड थप रोमाञ्चक बनेको छ भने विश्व फुटबलका शक्तिशाली टोलीहरू नकआउट चरणमा आमनेसामने हुने भएका छन्।

कोलम्बियाको जितमा खेलको १४औँ मिनेटमै जोन एरिआसले निर्णायक गोल गरे। लुइस सुवारेजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एरिआसले गरेको गोल नै टोलीलाई अन्तिम १६ पुर्याउन पर्याप्त बन्यो। त्यसपछि घानाले बराबरीका लागि लगातार दबाब बनाए पनि कोलम्बियाको रक्षापंक्ति मजबुत रहँदा खेलको नतिजा परिवर्तन हुन सकेन।

अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको यसपटकको विश्वकप पहिलो पटक ४८ टोलीको सहभागितामा आयोजना भएको हो। नयाँ ढाँचाअनुसार समूह चरणबाट ३२ टोली नकआउट चरणमा पुगेका थिए। अन्तिम ३२ को प्रतिस्पर्धापछि अब १६ टोली उपाधि यात्रामा कायम छन् भने १६ टोलीको अभियान समाप्त भएको छ।

प्रिक्वार्टरफाइनलमा स्थान बनाउने टोलीहरूमा आयोजक क्यानाडासहित ब्राजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्वीट्जरल्याण्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बिया रहेका छन्। यीमध्ये अधिकांश टोली विश्व फुटबलका स्थापित शक्ति भएकाले अबका खेलहरू अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

अन्तिम ३२ का खेलहरूमा केही नतिजाले समर्थकलाई आश्चर्यचकित पनि बनाए। पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले स्तब्ध पार्दा मोरक्कोले नेदरल्याण्ड्सलाई पनि पेनाल्टीमै ३-२ ले हरायो। इजिप्टले अष्ट्रेलियालाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै अर्को ठूलो सफलता हात पा¥यो।

उपाधि दाबेदार टोलीहरूले भने आफ्नो लय कायम राखे। फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्दतमा स्वीडेनलाई ३-० ले पराजित ग¥यो भने अर्जेन्टिनाले केप भर्डेलाई ३-२, ब्राजिलले जापानलाई २-१, स्पेनले अष्ट्रियालाई ३-० तथा पोर्चुगलले क्रोएसियालाई २-१ ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरे। क्यानाडा, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्वीट्जरल्याण्ड र नर्वेले पनि आआफ्ना खेल जित्दै नकआउट यात्रा लम्ब्याए।

समूह चरणदेखि नै अप्रत्याशित नतिजा र रोमाञ्चक प्रतिस्पर्धाले भरिएको यस विश्वकप अब निर्णायक मोडमा पुगेको छ।

अब एक हारले प्रतियोगिताबाट बाहिरिनुपर्ने भएकाले प्रिक्वार्टरफाइनलका खेलहरूमा प्रत्येक टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। उपाधि दाबेदार टोलीहरूबीचको सीधा भिडन्तले विश्व फुटबलका समर्थकलाई थप रोमाञ्चक क्षण प्रदान गर्ने निश्चित देखिएको छ।

Copyright © 2024 | All rights reserved.