असार २१, २०८३, आइतबार

सरकारमाथि गगनको तीखा प्रहार: ‘लाइकका लागि निर्णय, जनताको जीवन ओझेलमा’


Advertisement Image
clock icon 1 hour, 52 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिने कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले जनजीवनमा प्रभाव पार्ने नीतिभन्दा सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने निर्णयलाई बढी प्राथमिकता दिएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ विषयक कार्यक्रममा बोल्दै थापाले सरकारले निर्णय गर्दा नागरिकको जीवनमा त्यसको प्रभावभन्दा सामाजिक सञ्जालमा कति ‘लाइक’ बढ्छ भन्ने मानसिकताबाट काम गरेको दाबी गरे।

उनले सरकारका लागि परिणाम महत्त्वपूर्ण भए पनि कानूनी प्रक्रिया र विधिको शासनलाई बेवास्ता गरेर अघि बढ्न नहुने बताए।

सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेस सकारात्मक रहेको उल्लेख गर्दै थापाले कांग्रेस कानूनअनुसार आफ्नो विवरण बुझाउन तयार रहेको बताए।

तर आयोगका कामकारबाही कार्यकारी आदेशका आधारमा नभई कानूनले तोकेको प्रक्रिया पूरा गरेर अघि बढाउन सरकारलाई आग्रह गरे।

थापाले वर्तमान सरकार ‘विधि र प्रक्रिया होइन, परिणाम मात्रै महत्त्वपूर्ण हो’ भन्ने सोचका साथ अघि बढेको आरोप लगाए।

यस्तो प्रवृत्तिले लोकतान्त्रिक शासन प्रणाली र कानूनी शासनलाई कमजोर बनाउन सक्ने भन्दै उनले सरकारलाई विधिसम्मत ढंगले काम गर्न सुझाव दिए।

सरकार गठन भएको १०० दिन पूरा भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेताको यो टिप्पणीलाई सरकारले अघि सारेका निर्णय र कार्यशैलीप्रतिको प्रमुख राजनीतिक आलोचनाका रूपमा हेरिएको छ।

Copyright © 2024 | All rights reserved.