0
प्रतिक्रिया
पोखरा। नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तथा पोखरा महानगरपालिका र गण्डकी प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए।
कार्यक्रममा कफी उत्पादन क्षेत्रमा सक्रिय उद्यमी, कृषक तथा कृषि सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पोखरा महानगरपालिकाका अनुसार महानगर क्षेत्रमा करिब ४५ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ। आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरामा वार्षिक करिब १५ टन कफी उत्पादन हुने जानकारी दिए।
कफी खेतीलाई प्रोत्साहन गर्न महानगरपालिकाले कम्तीमा १०० वटा कफीका बिरुवा रोप्ने कृषकलाई प्रति बिरुवा ५० रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ।
यसअन्तर्गत हालसम्म १० हजार बिरुवा रोपिएको महानगरले जनाएको छ। साथै, कृषकहरूलाई कफी प्याकेजिङमा समेत सहयोग गरिएको छ। पोखरामा हाल करिब एक हजार पाँच सय कफी क्याफे तथा कफी सप सञ्चालनमा रहेका छन्।
नगर प्रमुख धनराज आचार्यले कफी खेतीको व्यावसायिक विकासका लागि बीउ तथा बिरुवामा अनुदान, बजारीकरणमा सहयोग र आवश्यक समन्वय गर्दै आएको बताए।
उनका अनुसार व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत बारिस्टा लगायत कफी व्यवसायसँग सम्बन्धित सीप विकास तालिमसमेत सञ्चालन गरिएको छ।
नगर प्रमुख आचार्यले बाँझो जमिन तथा बाँदरबाट क्षति हुने क्षेत्रमा कफी खेती विस्तार गर्न कृषकहरूलाई आग्रह गरे।
खेतीयोग्य जमिन बाँझो रहने समस्या बढ्दै गइरहेको उल्लेख गर्दै उनले कफी खेतीलाई त्यस्ता जमिनको सदुपयोग गर्ने उपयुक्त विकल्पका रूपमा विकास गर्न सकिने धारणा राखे।
कार्यक्रममा आयोजित कफी कपिङ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने कफी उद्यमी तथा कृषकहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
Copyright © 2024 | All rights reserved.