0
प्रतिक्रिया
पोखरा । फिर्केखोलाको खोला घरमा निर्माण भएका संरचना हटाउने पोखरा महानगरपालिकाको अभियान आज दोस्रो दिन पनि जारी रहने भएको छ ।
पोखरा-७ र ८ को सिमाना जिरो किमी, पोखरा-४ र ५ को सिमाना बूढानीलकण्ठ मन्दिर र पोखरा-१८ र २ को सिमाना अधेरीकुनादेखि वडा नं.४ तर्फ तीनै स्थानमा दोस्रो दिन पनि बिहान १० बजेदेखि कार्य शुभारम्भ हुनेछ ।
फिर्केखोलाको नाप जाँच प्रतिवेदन, २०८० का अनुसार फिर्केखोला मिचेर निर्माण भएका संरचनाहरूको सङ्ख्या १६० रहेको छ ।
यसमा खोलाको दायाँबायाँ व्यक्तिगत रूपमा निर्माण भएका स्थायी प्रकृतिका ३५ ओटा संरचना रहेका छन् भने, अस्थायी प्रकृतिका ९७ ओटा संरचनाहरू रहेका छन् ।
यस्तै विभिन्न संस्थाका नाममा बनेका संस्थागत संरचनाहरूको सङ्ख्या भने स्थायी १८ र अस्थायी १० ओटा संरचना निर्माण भएको पाइएको छ ।
यी संरचनाहरू हटाएर पोखरा महानगरपालिकाले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यीकरणको योजना अगाडी सारेको छ ।
योजना अनुसार फिर्केखोलाको दायाँबायाँ साइकल ट्र्याक, फुटपाथसहितको कोरिडोर निर्माण हुनेछ ।
फिर्केलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिने छ। नगर प्रमुख धनराज आचार्यका अनुसार पोखराको सभ्यताका रूपमा रहेको फिर्केखोलाको संरक्षण वातावरण तथा पर्यावरण संरक्षणका दृष्टिले पनि निकै महत्त्वपूर्ण हुनेछ ।
वातावरण संरक्षणका लागि महाअभियान नेपालका संयोजक रामबहादुर पौडेलले समेत यसलाई संरक्षण तथा विकास गर्ने महानगरपालिकाको योजनामा नागरिक समाजको तर्फबाट पूर्ण साथ रहने बताउँदै आएका छन्।
फिर्केखोलाको खोलाघर खाली गर्ने अभियानमा पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले नेतृत्वदायी र सक्रिय सहभागिता जनाइरहेका छन् ।
नगर प्रमुख आचार्यले यस अभियानमा साथ दिने सवैप्रति आभार प्रकट गरेका छन्छ। साथै सो क्षेत्रमा बसोबास गर्ने र विस्थापित हुने अवस्थाका सकुमवासीहरुको उचित व्यवस्थापन गरिने बताए।
Copyright © 2024 | All rights reserved.