असार २४, २०८३, बुधबार

अन्तिम क्षणको गोलले अर्जेन्टिनाको उद्धार, इजिप्टलाई ३–२ ले हरायो


Advertisement Image
clock icon 2 hours, 56 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम-१६ को अविस्मरणीय खेलमा विश्व च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको छ।

खेलको ७९औँ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम १५ मिनेटभित्र तीन गोल गर्दै विश्वकप इतिहासकै स्मरणीय पुनरागमनमध्ये एक गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

खेलको शुरूआत इजिप्टको पक्षमा रह्यो। इब्राहिमको शानदार हेडरबाट अग्रता लिएको इजिप्टले दोस्रो हाफमा मोस्तफा जिकोको गोलमार्फत २-० को बलियो अवस्था बनाएको थियो। यसअघि जिकोकै अर्को उत्कृष्ट गोल भीएआरले फाउलका कारण रद्द गरेको थियो।

तर त्यसपछि लियोनेल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले खेलको रूप नै बदलिदियो। ७९औँ मिनेटमा मेस्सीको क्रसमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै आशा जगाए। त्यसको केही मिनेटमै मेस्सी आँफैले बराबरी गोल गर्दै खेल २-२ मा पुर्‍याए। इन्जुरी समयको चौथो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को रोमाञ्चक जित दिलाए।

निर्णायक गोलअघि इजिप्टले आफ्नै पेनाल्टी क्षेत्रमा फाउल भएको भन्दै पेनाल्टीको माग गरेको थियो। तर रेफ्रीले खेल जारी राखेपछि अर्जेन्टिनाले काउन्टर-अट्याकमा गोल गर्‍यो। यस निर्णयप्रति इजिप्टका खेलाडी र प्रशिक्षक टोलीले अन्तिम सिटीपछि पनि कडा विरोध जनाए।

अन्तिम सिटीसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी खुसीका आँशुमा डुबेका देखिए। शुरूआतमै पेनाल्टी गुमाएका उनले पछि एक असिस्ट र एक गोल गर्दै टोलीको पुनरागमनको नेतृत्व गरेका थिए। मैदानमा अर्जेन्टिनाका खेलाडीहरूले खुसी र राहत दुवै भावनासहित ऐतिहासिक जितको उत्सव मनाए।

यो खेल विश्वकप २०२६ कै मात्र होइन, विश्वकप इतिहासकै उत्कृष्ट खेलमध्ये एकका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।

यस ऐतिहासिक जितसँगै विश्व च्याम्पियन अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ भने लियोनेल मेस्सीको नेतृत्वमा टोलीले उपाधि रक्षा गर्ने अभियानलाई निरन्तरता दिएको छ।

यता उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम समयमा अग्रता गुमाउँदा इजिप्टको विश्वकप यात्रा भने अत्यन्त पीडादायी रूपमा समाप्त भएको छ।

Copyright © 2024 | All rights reserved.