असार २५, २०८३, बिहीबार

प्रहरी र स्थानीयको संयुक्त अभियान, साराङकोट र रुपाका विभिन्न स्थानमा कारबाही


Advertisement Image
clock icon 2 hours, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरेका छन्।

प्रहरीका अनुसार असार २४ गते सञ्चालन गरिएको अभियानअन्तर्गत प्रहरी चौकी साराङकोटबाट खटिएको टोलीले स्थानीय आमा समूह, युवा क्लब तथा स्थानीयवासीको सहयोगमा पोखरा महानगरपालिका-१८ साराङकोट र वडा नं. २४ गुन्टेचौर क्षेत्रमा रहेका करिब २५० वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।

त्यसैगरी, प्रहरी चौकी सातमुहाने देउरालीबाट खटिएको टोलीले रुपा गाउँपालिका-४ धामीगाउँमा प्राकृतिक रूपमा उम्रिएका करिब १५० वटा गाँजाका बोट स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको रोहबरमा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय हंसपुर तालबेशीबाट खटिएको प्रहरी टोलीले रुपा गाउँपालिका–७ काउरे क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएका करिब १६५ वटा गाँजाका बोट स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको उपस्थितिमा फडानी गरी नष्ट गरेको छ।

प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटसमेत नष्ट गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

Copyright © 2024 | All rights reserved.