असार ०६, २०८३, शनिबार

कक्षा १२ मा मदरल्याण्डको उत्कृष्ट नतिजा, ११ विद्यार्थीले ल्याए ३.९६ जिपिए


Advertisement Image
clock icon 2 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन्, जुन सम्भवतः यस वर्षको देशकै उच्च उपलब्धिमध्ये एक हो। गत वर्ष पनि यस विद्यालयका १२ विद्यार्थीले ३.९६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका थिए।

पोखरा-७, मासबारस्थित विद्यालयबाट ३.९६ जिपिए ल्याउनेमा व्यवस्थापन संकायतर्फ दृश्या घिमिरे रहेकी छन्।

विज्ञान संकायतर्फ आशिष बस्ताकोटी, दीक्षा घिमिरे, इक्युटी पौडेल, जस्मिन बोहोरा, कृपा बराल, कृस्टिना पौडेल, मिजल पराजुली, रेडियस पोखरेल, सम्पूर्ण शर्मा र श्रेया तामाङले समान जिपिए प्राप्त गरेका छन्। यीमध्ये आशिष, इक्युटी, कृपा र रेडियसले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए हासिल गरेका थिए।

विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी ४०७ विद्यार्थीमध्ये ४०३ जना अर्थात् ९९.०२ प्रतिशत उत्तीर्ण भएका छन्।

प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार २०८ जना विद्यार्थीले ३.६० भन्दा माथि जिपिए प्राप्त गरेका छन्। त्यस्तै, १४३ जनाले ३.२० देखि ३.६०, ४६ जनाले २.८० देखि ३.२० र ६ जनाले २.४२ देखि २.८० सम्म जिपिए ल्याएका छन्।

यस वर्ष देशभर नियमिततर्फ कक्षा १२ परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना अर्थात् ६९.७५ प्रतिशत ग्रेडेड भएका छन्। १ लाख ४७१ जना विद्यार्थी भने ननग्रेड भएका छन्।

विद्यालयका प्राचार्य डा. नारायण बरालले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई दिँदै उनीहरूको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेका छन्। उनले यस सफलतामा योगदान पुर्‍याउने शिक्षक, अभिभावक र सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गरेका छन्।

Copyright © 2024 | All rights reserved.