0
प्रतिक्रिया
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले पोखरा–२७ स्थित दीपाङ तालको समग्र विकासका लागि पाँच करोड रुपैयाँ र कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थल क्षेत्रको विकासका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।
दीपाङ ताल क्षेत्र अवलोकन गरेपछि मन्त्री पौडेलले तालको संरक्षण र विकासका लागि स्थानीय तह तथा सरोकारवाला संस्थाहरूले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए।
उनले देशभरका धेरै विकासका आवश्यकता हुँदाहुँदै पनि दीपाङ तालको महत्वलाई ध्यानमा राखेर पाँच करोड रुपैयाँ बजेट छुट्याइएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन स्थानीय तहको जिम्मेवारी भएको बताए।
मन्त्री पौडेलले तालको सीमाङ्कन, मापदण्ड निर्धारण, संरक्षण तथा स्थानीय बासिन्दाका जायज माग सम्बोधनमा वडा कार्यालयको भूमिका महत्वपूर्ण रहने बताए। प्रभावित जग्गाधनी र स्थानीय समुदायसँग सहकार्य गर्दै उपयुक्त समाधान निकाल्नुपर्नेमा उनले जोड दिए।
उनले कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थलको संरक्षण र प्रवद्र्धनका लागि पनि ५० लाख रुपैयाँसम्मको योजना ल्याउन स्थानीयलाई आग्रह गर्दै उक्त क्षेत्रको ऐतिहासिक, साहित्यिक र पर्यटन महत्वलाई उजागर गर्ने गरी विकास गर्नुपर्ने बताए।
मन्त्री पौडेलले स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय गरेर योजना कार्यान्वयन गर्न सके दीपाङ ताल र लेखनाथ जन्मस्थललाई गण्डकी प्रदेशका महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे।
Copyright © 2024 | All rights reserved.