साउन १६, २०८३, शनिबार

कोदो खेती विस्तारमा पोखरा महानगरको जोड


Advertisement Image
clock icon 1 hour, 53 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिका-२२ कोदीमा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ।

महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार आजको आवश्यकता भएको बताए।

उनले रैथाने बालीका रूपमा कोदो खेतीको प्रवर्द्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन आवश्यक नीति तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए। सो अवसरमा नगर प्रमुख आचार्यले कोदो कृषकका लागि न्यूनतम समर्थन मूल्यको घोषणा पनि गरे।

महोत्सवमा उत्कृष्ट कोदो उत्पादक कृषकलाई नगदसहित सम्मान गरिएको थियो। १७ रोपनीमा कोदो खेती गरेका पोखरा-२२ का खगी घर्ती, ११ रोपनीमा खेती गरेका पोखरा-२० का दुर्गाबहादुर सुनार, १० रोपनीमा खेती गरेका पोखरा-२८ का शोभा भण्डारी तथा नौ रोपनीमा खेती गरेका पोखरा-२३ का होमबहादुर गुरुङलाई सम्मान गरिएको हो। उनीहरूलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सम्मानपत्र र नगद प्रदान गरे।

महोत्सवका अवसरमा कोदो रोप्ने प्रतियोगिता पनि आयोजना गरिएको थियो। महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगर क्षेत्रमा करिब तीन हजार आठ सय हेक्टरमा कोदो खेती हुने गरेको छ भने वार्षिक करिब चार हजार आठ सय मेट्रिकटन उत्पादन हुने अनुमान छ। बजारमा माग बढ्दै गए पनि उत्पादन घट्दै गएकाले कृषकलाई आकर्षित गर्न न्यूनतम समर्थन मूल्य लागू गरिएको उनले बताए।

महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय कृषि उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनीसमेत राखिएको थियो।

कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

Copyright © 2024 | All rights reserved.