0
प्रतिक्रिया
पोखरा । पोखरामा पर्यटकीय गतिविधि विस्तार गर्ने र मौलिक नेपाली कृषि संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित आगामी असार १५ गते २१औँ असारे रोपाइँ महोत्सव आयोजना हुने भएको छ। पोखरा पर्यटन परिषदको आयोजनामा हुने यो महोत्सव पोखरा महानगरपालिका–३० स्थित शिशुवा देउराली खोला किनारमा गर्ने तय गरिएको छ।
पर्यटनको लो सिजन मानिने वर्षायाममा समेत पर्यटक आकर्षित गर्ने लक्ष्यसहित परिषदले विगत दुई दशकदेखि निरन्तर रूपमा असारे रोपाइँ महोत्सव गर्दै आएको छ। यस वर्षको कार्यक्रम वडा स्तरीय कृषि सञ्जाल पोखरा–३० सँगको समन्वयमा सञ्चालन हुने जनाइएको छ।
महोत्सवको तयारीका विषयमा परिषदको कार्यालयमा विशेष छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ। परिषदका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा भएको छलफलमा महोत्सवको तयारी, व्यवस्थापन र विविध पक्षबारे विस्तृत समीक्षा गरिएको थियो।
अध्यक्ष पहारीले यसपटकको महोत्सवलाई विगतभन्दा अझ व्यवस्थित र प्रभावकारी बनाइने बताए। ‘हाम्रो मुख्य उद्देश्य वर्षायाममा पनि पोखराको पर्यटकीय गतिविधि निरन्तर चलायमान बनाउनु हो,’ उनले भने, ‘रोपाइँ महोत्सवमार्फत मौलिक कृषि संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने प्रयास गरिएको छ।’
उनका अनुसार महोत्सवले कृषि र पर्यटनलाई एकैसाथ जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ। छलफलका क्रममा परिषदका पदाधिकारीहरूले महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
बैठकमा महोत्सवका विभिन्न उपसमिति गठन गर्ने तथा प्रचार–प्रसारलाई तीव्र बनाउने विषयमा पनि सहमति भएको छ। कार्यक्रममा परम्परागत रोपाइँ, हिलोमा दौड, माछा समात्ने प्रतियोगिता, स्थानीय परिकार र सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ।
परिषदले हरेक वर्ष फरक–फरक स्थानमा यस्ता कार्यक्रम गर्दै स्थानीय कृषि र पर्यटन प्रवर्द्धन गर्दै आएको छ। बैठकले महोत्सव तयारीलाई तीव्रता दिँदै सबै सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय गरेको छ।
Copyright © 2024 | All rights reserved.