0
प्रतिक्रिया
पोखरा। कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले पोखरामा पछिल्लो समय भएका ठूला चोरीका घटनामा काठमाडौँबाट आउने गिरोह संलग्न रहेको बताएका छन्।
नुवारथोक टोल विकास संस्था, पोखरा-७ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार चोरीका घटना गरेर अपराधीहरू पुनः काठमाडौँ फर्किने गरेका कारण अनुसन्धानमा प्रहरीलाई थप चुनौती देखिएको छ। उनले पोखराको एउटै घरबाट ५० तोला सुन चोरी भएको उदाहरण दिँदै अहिले चोरहरूको मुख्य लक्ष्य बहुमूल्य धातु भएको उल्लेख गरे।
एसपी कार्कीले महिलाहरूलाई धेरै गहना लगाएर बाहिर ननिस्कन आग्रह गर्दै त्यसले सुरक्षा जोखिम बढाउन सक्ने चेतावनी दिए। उनले नागरिक आफैं सुरक्षा सचेतनामा सक्रिय हुनुपर्ने बताउँदै सुन सुरक्षित राख्न लकर प्रयोग गर्न सुझाव दिए।
टोलहरूमा सीसीटिभी क्यामेरा जडान गर्न र पर्याप्त बत्तीको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। साथै, घरमा धेरै सुन र नगद नराख्न पनि प्रहरीले अनुरोध गरेको छ।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले नयाँ व्यक्तिको गतिविधिमा निगरानी राख्न र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे। उनले घर बाहिर जाँदा छिमेकीलाई जानकारी दिन र अटोमेटिक बत्ती जडान गर्न सुझाव दिए।
पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले वडालाई उज्यालो बनाउने अभियान सञ्चालन भइरहेको जानकारी दिँदै मुख्य चोकहरूमा सीसीटिभी जडान गर्ने योजना रहेको बताए। उनले चोरी नियन्त्रणका लागि स्थानीय समुदायको सक्रियता आवश्यक रहेको उल्लेख गरे।
सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बराल र टोल विकास समितिका अध्यक्ष दामोदर बरालले शान्ति सुरक्षाका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेको बताए।
स्थानीयवासीले टोलमा नियमित गस्ती, लागुऔषध नियन्त्रण र बिहान-साँझ महिलाका लागि सुरक्षित वातावरण निर्माण गर्न माग गरेका छन्।
Copyright © 2024 | All rights reserved.