0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिकाले वडा केन्द्र जोड्ने कनेक्टिङ सडक तथा शहरी सडकहरूको स्तरोन्नति कार्यलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ।
महानगरले यस्ता सडकहरूलाई क्रमशः अस्फाल्ट र कङ्क्रिट प्रविधिमार्फत स्तरोन्नति गर्दै लैजाने जनाएको छ।
रणनीतिक महत्वका सडक तथा पुल निर्माण कार्यलाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ।
साथै, शहरी सडकहरूको स्तरोन्नति संघ र प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइनेछ।
भदौ २४ गतेको जनआन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त भएको महानगरपालिकाको प्रमुख प्रशासकीय भवन भत्काई उक्त स्थानलाई उपयुक्त प्रयोजनका लागि उपयोगमा ल्याइने योजना पनि अघि सारिएको छ।
सार्वजनिक–निजी साझेदारीमा निर्माणाधीन पातले छाँगोस्थित सिसा पुल आयोजनालाई चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने महानगरको लक्ष्य छ।
त्यसैगरी, फोहोरमैला प्रशोधन केन्द्र र सेती खोंचमा क्यान्टिलिभर वाक निर्माण कार्य शुरू गरिनेछ।
व्यवस्थित वधशाला निर्माण, विन्ध्यवासिनी बसपार्कको स्तरोन्नति, बेगनास तालमा वाटर स्पोर्ट्स परियोजना सञ्चालन तथा हर्पन खोला करिडोर निर्माण गरी एड्भेन्चर बोटिङ परियोजना सञ्चालनको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ।
महानगरले यी योजनामार्फत शहरी पूर्वाधार विकास, वातावरणीय व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनलाई एकसाथ अघि बढाउने लक्ष्य लिएको जनाएको छ।
Copyright © 2024 | All rights reserved.