साउन २१, २०८३, बिहीबार

भदौ १५ भित्र फिर्के खोलाको खोला घर खाली गर्न महानगरको चेतावनी


Advertisement Image
clock icon 2 hours, 16 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र निर्माण गरिएका संरचना भदौ १५ गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई अन्तिम चेतावनी दिएको छ।

महानगरले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार अधेरीकुनादेखि फेवातालसम्म करिब आठ किलोमिटर लामो फिर्के खोलाको अतिक्रमण हटाउँदै खोलालाई प्राकृतिक बहावमा फर्काई सफा, स्वच्छ, वातावरणमैत्री तथा व्यवस्थित कोरिडोर निर्माण गर्ने अभियानलाई निरन्तर अघि बढाइएको जनाएको छ।

नगर प्रमुखको अध्यक्षतामा फिर्के खोला क्षेत्रका आठ वटै वडाका वडाध्यक्षहरूको बैठक बसेर खोला घरभित्र रहेका संरचनाको स्थलगत अध्ययन गरी सात दिनभित्र पूर्ण विवरणसहितको प्रतिवेदन पेश गर्न प्राविधिक र नगर प्रहरीलाई जिम्मेवारी दिइएको छ।

यसअघि आफ्नै पहलमा संरचना हटाउने मौखिक प्रतिबद्धता जनाएका तर हालसम्म नहटाएका व्यक्ति तथा संस्थालाई २०८३ भदौ १५ गतेभित्र संरचना हटाउन पुनः आग्रह गरिएको छ।

महानगरले तोकिएको समयभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम महानगर आफैंले ती संरचना हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सरकारी बाँकी सरह सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने स्पष्ट पारेको छ।

महानगरका अनुसार २०८३ असोज १ गतेदेखि पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड-२०८० (दोस्रो संशोधन-२०८२) बमोजिम कोरिडोर निर्माणसँग सम्बन्धित प्राविधिक तथा अन्य आवश्यक कार्य औपचारिक रूपमा सुरु गरिनेछ।

महानगरपालिकाले फिर्के खोलाको संरक्षण, विकास र संवर्द्धन गर्दै वातावरणमैत्री पोखरा निर्माणको अभियानमा सहयोग गर्न सबै नगरवासीसँग आग्रह गरेको छ।

Copyright © 2024 | All rights reserved.