0
प्रतिक्रिया
पोखरा । होटल प्रतिनिधि समाज पोखराले संस्थामा आबद्ध व्यवसायी, पूर्वअध्यक्ष, वर्तमान कार्यसमिति तथा सल्लाहकारहरूको सहभागितामा एकदिने आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले प्रत्येक अधिवेशनअघि आयोजना गर्दै आएको प्रशिक्षण कार्यक्रमले आगामी २७औँ साधारण सभा तथा १४औँ अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई मार्गदर्शन गर्ने उद्देश्य राखिएको संस्थाले जनाएको छ।
समाजको २७औँ साधारण सभा आगामी असोजको अन्तिम साता हुने तय भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका पूर्वअध्यक्ष तथा कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलकबहादुर अधिकारीले विगतकै मोडलमा संस्था सञ्चालन गर्न चुनौती थपिएको उल्लेख गर्दै समयअनुसार संस्थाको कार्यशैली र संरचनामा परिवर्तन आवश्यक रहेको बताए।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पूर्वअध्यक्ष तथा पोखरा महानगरपालिका-६ का जनप्रतिनिधि दीपेन्द्र पहारी, संस्थापक उपाध्यक्ष हरिकुमार श्रेष्ठ, सल्लाहकार शुकबहादुर थापा ‘प्यासी’, संस्थापक सदस्य भीम नेपाली, पूर्वउपाध्यक्ष गणेश मल्ललगायतले अनुभव आदान-प्रदान गरेका थिए।
उनीहरूले पछिल्लो समय संस्था सक्रिय र चलायमान बनेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विस्तारसँगै होटल प्रतिनिधिको भूमिका अझ महत्वपूर्ण बन्दै जाने धारणा राखे।
पोखरा अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास भइरहेको र निकट भविष्यमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने अपेक्षाबीच संस्थाका गतिविधि स्वस्थ प्रतिस्पर्धात्मक र पर्यटनमैत्री हुनुपर्नेमा उनीहरूले जोड दिए।
संस्थाका अध्यक्ष लम्सालले संस्थामाथि आधारहीन आरोप लगाउने प्रवृत्तिप्रति सचेत रहन सदस्यहरूलाई आग्रह गरे।
वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक जीवराज उपाध्यायले सदस्यहरूको कार्यशैली र व्यवहारमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताए। कार्यक्रमको सञ्चालन महासचिव शिव पौडेलले गरेका थिए।
Copyright © 2024 | All rights reserved.