साउन २१, २०८३, बिहीबार

तीन दिनपछि सकुशल भेटिए तीन युवा, उद्धार अभियान तीव्र


Advertisement Image
clock icon 3 hours, 8 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा तीन दिनदेखि सम्पर्कविहीन भएका तीन जना युवा मोदी खोलापारि सकुशल फेला परेका छन्।

उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहानदेखि उद्धार अभियानलाई तीव्र बनाएको छ।

पोखरा महानगरपालिका-१४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ अन्नपूर्ण गाउँपालिका-११ स्थित छोमरोङ फेदी नजिक मोदी खोलाको पारीपट्टि सकुशल भेटिएका हुन्।

उनीहरूले लगातार दुई रात ओढारमा बिताएको जनाइएको छ।

ती युवा १९ साउनमा मर्दी हिमाल पदयात्राका लागि निस्किएका थिए। २० साउन बिहान ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन भएका थिए।

उनीहरू हराएको सूचना पाएपछि बादलडाँडामा होटल सञ्चालन गर्ने प्रेम अधिकारीको नेतृत्वमा स्थानीय टोलीले खोजी थालेको थियो। खोजीका क्रममा २० साउन साँझ स्थानीयले उनीहरूलाई मोदी खोलापारी देखेका थिए।

सूचना प्राप्त भएपछि घान्द्रुक र बगरबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुगेको थियो। तर, मोदी खोलामा पानीको बहाव अत्यधिक रहेकाले तत्काल उद्धार गर्न सम्भव भएन।

उद्धारका लागि डोजर प्रयोग गरी रुख ढालेर अस्थायी पुल निर्माण गर्ने प्रयाससमेत गरिएको थियो।

साथै, पानीको बहावलाई एकातिर मोडेर सुरक्षित रूपमा खोला तर्ने योजना बनाइए पनि सफल हुन सकेन।

मर्दीपट्टिको भूभाग अत्यन्त भिरालो, अग्लो र जोखिमपूर्ण भएकाले त्यही बाटोबाट पुग्ने प्रयासले थप समय लाग्ने अवस्था रहेको उद्धार टोलीले जनाएको छ।

उक्त क्षेत्रमा केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

बुधबार राति जोखिमका कारण उद्धार कार्य स्थगित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी घटनास्थल नजिकै बसेर रातभर युवाहरूको अवस्थाको निगरानी गरेका थिए।

बिहीबार बिहानैदेखि प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा थप सुरक्षाकर्मी घटनास्थल पुगेका छन्।

भूगोल र मौसम अनुकूल भए हेलिकोप्टरमार्फत उद्धार गर्ने विकल्पसमेत तयारी अवस्थामा राखिएको छ।

यसबीच, उद्धार टोलीले खोलापारि रहेका युवाहरूका लागि हलुका तथा तत्काल उपभोग गर्न मिल्ने खानेकुरा हुत्याएर पुर्‍याएको छ।

मोबाइलको ब्याट्री सकिएकाले उनीहरूसँग प्रत्यक्ष टेलिफोन सम्पर्क हुन नसके पनि खोला वारी-पारीबाट संकेत र आवाजका माध्यमबाट निरन्तर समन्वय भइरहेको छ।

प्रहरीका अनुसार तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरूलाई सुरक्षित रूपमा खोला वारी ल्याएर पोखरा पठाउने तयारी भइरहेको छ।

प्रारम्भिक अनुसन्धानमा पदयात्राका क्रममा बाटो बिराउँदा उनीहरू भिर र जंगलको बीचमा पर्ने मोदी खोलाको किनारमा पुगेको अनुमान गरिएको छ।

Copyright © 2024 | All rights reserved.