असार १६, २०८३, मंगलबार

ब्रजिल विश्वकपको अन्तिम १६ मा, जापानको सपना चकनाचुर


Advertisement Image
clock icon 1 hour, 32 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। २०२६ फिफा विश्वकपको राउन्ड अफ ३२ अन्तर्गत ब्रजिलले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतले जापानलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।

खेलको पहिलो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो। २९औँ मिनेटमा काइशु सानोले शानदार व्यक्तिगत प्रयासमा गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए।

पहिलो हाफभर ब्रजिलले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन र जापान अग्रता जोगाउँदै विश्राममा गएको थियो।

दोस्रो हाफमा भने ब्रजिल पूर्ण रूपमा हावी बन्यो। बलमा नियन्त्रण कायम राख्दै लगातार दबाब सिर्जना गरेको ब्रजिलले ५६औँ मिनेटमा कासेमिरो को हेडर गोलमार्फत खेल १-१ को बराबरीमा ल्यायो।

बराबरीपछि पनि ब्रजिलले लगातार आक्रमण जारी राख्यो भने जापानले संगठित रक्षात्मक खेल प्रदर्शन गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेल्ने प्रयास गरिरहेको थियो। जापानी टोलीले केही अवसरमा भाग्यको पनि साथ पाएको थियो।

तर इन्जुरी समयको ९०+६औँ मिनेटमा ब्रजिलका वैकल्पिक खेलाडी गेब्रियल मार्टिनेली नायक बने।

ब्रुनो गिमारेसको उत्कृष्ट पासलाई उनले सटिक प्रहारमार्फत गोलमा परिणत गर्दै ब्रजिललाई २-१ को रोमाञ्चक जित दिलाए।

अन्तिम सिट्टी बज्नासाथ ब्रजिलका खेलाडीहरूले ऐतिहासिक पुनरागमनको खुसी मनाए भने जापानका धेरै खेलाडी भावुक हुँदै मैदानमै निराश देखिएका थिए।

यस जितसँगै ब्रजिलले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। अब ब्राजिलले आइभरी कोस्ट र नर्वे बीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

आँसुमै डुबे जापानी खेलाडी

अन्तिम क्षणमा ब्रजिलसँग पराजित भएपछि जापानी टोलीका खेलाडीहरू भावुक बने। खेल सकिएलगत्तै जापानका अधिकांश खेलाडी मैदानमै लडेर बसेका थिए।

केहीले टाउको दुवै हातले समातेका थिए भने केही आँसु पुछ्दै निराश मुद्रामा देखिएका थिए। ऐतिहासिक जितको नजिक पुगेर अन्तिम समयमा हार बेहोर्नुपर्दा ‘समुराई ब्लु’ का खेलाडीहरूको पीडा स्पष्ट देखिन्थ्यो।

उता, इन्जुरी समयको निर्णायक गोलसँगै शानदार पुनरागमन गरेको ब्रजिलका खेलाडीहरू भने उत्साहपूर्वक जितको खुसी मनाएका थिए। मैदानभर ब्रजिलका खेलाडी र समर्थकहरूको उत्सव चलिरहँदा जापानी खेलाडीहरू गहिरो निराशामा डुबेका थिए।

Copyright © 2024 | All rights reserved.