0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा विविध कार्यक्रम गरी २७औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘विभिन्न सन्दर्भ, साझा आकांक्षा’ रहेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार यस नाराले विश्वभरका युवाका फरक-फरक परिस्थितिका बाबजुद शिक्षा, रोजगारी, स्वास्थ्य, निर्णय प्रक्रियामा सहभागिता र उज्ज्वल भविष्य निर्माणजस्ता साझा आकांक्षालाई जोड दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले युवालाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकासमार्फत सशक्तीकरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए।
उनले युवाको क्षमता, सिर्जनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्धन तथा नेतृत्व विकासलाई प्राथमिकतामा राखेर परिषद्ले आफ्ना गतिविधि अघि बढाइरहेको उनको भनाइ थियो।
दिवसका अवसरमा युवा सहभागिता र क्षमता विकासमा केन्द्रित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको थियो।
विश्वभरका युवाका फरक-फरक सामाजिक, आर्थिक तथा भौगोलिक परिस्थितिका बाबजुद उनीहरूका साझा आकांक्षा र अधिकारलाई सम्बोधन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ।
Copyright © 2024 | All rights reserved.