साउन २६, २०८३, मंगलबार

विभिन्न सवारी दुर्घटनामा चार जनाको मृत्यु


Advertisement Image
clock icon 1 hour, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सुनसरी, सप्तरी, कपिलवस्तु र कालिकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको हो।

सुनसरीको इनरुवा नगरपालिका-५ बलाहामा गत असार २२ गते को.२६ प २१३५ नम्बरको बुलेट मोटरसाइकलले बाटो क्रस गर्दै गरेको प्र.१-०२-०४४ प ४९३८ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका थिए।

दुर्घटनामा पल्सर चालक इनरुवा-५ का ७० वर्षीय बुधनारायण राय, पछाडि सवार इनरुवा-७ का अन्दाजी ५५ वर्षीय राधे रिषिदेव र बुलेट चालक गढी गाउँपालिका-२ भमरीका ३० वर्षीय निरज साह घाइते भएका थिए।

उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेकामा राधे ऋषिदेवको साउन २६ गते उपचारका क्रममा मृत्यु भएको हो।

सप्तरीको रुपनी गाउँपालिका-१ रुपनीस्थित रुपनी-राजविराज सडकखण्डमा साउन २६ गते बा.३८ प ९७०७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक छिन्नमस्ता गाउँपालिका-३ मौवाटोलका अन्दाजी ६५ वर्षीय रामप्रसाद यादव घाइते भएका थिए।

उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-७ धरमपनियामा साउन २५ गते ना.६ ख ६४२३ नम्बरको मिनी ट्रकमा लु.८२ प ८६२८ नम्बरको पल्सर मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका-३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार घाइते भएका थिए। जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राति ११ः१३ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्।

कालिकोटको खाँडाचक्र नगरपालिका-७ मेलमा साउन २५ गते कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा चार जना घाइते भएका थिए।

घाइतेमध्ये महाबै गाउँपालिका-५ गेलाका ३५ वर्षीय मंगल शाहीलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो।

उपचारका लागि रिफर गरिएका शाहीको तिलागुफा नगरपालिका-४ राँचुलीस्थितमा मृत्यु भएको हो। दुर्घटनामा घाइते २५ वर्षीया सविना शाहीसहित अन्यको उपचार भइरहेको छ।

Copyright © 2024 | All rights reserved.