असार १६, २०८३, मंगलबार

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न


Advertisement Image
clock icon 1 hour, 26 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

लेखनाथ। ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका–३० शिशुवा देउराली खोलाछेउमा आइतबार २१औँ रोपाइँ महोत्सव सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को आयोजना तथा वडास्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताए। उनले ग्रामीण क्षेत्रमा बाँझो जमिन बढ्दै गएको उल्लेख गर्दै उत्पादनमुखी खेतीतर्फ जोड दिनुपर्ने धारणा राखे।

परिषद्का अध्यक्ष तारानाथ पहारीले धान रोपाइँलाई पर्यटनसँग जोडेर नेपाली कृषि संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए। महोत्सवमा विदेशी तथा आन्तरिक पर्यटक, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधिले खेतमा उत्रिएर धान रोपाइँ, हिलो खेल्ने तथा ग्रामीण जीवनशैलीको अनुभव लिएका थिए।

कार्यक्रममा असारे गीत, पञ्चेबाजा, हिलो दौड, रस्साकस्सी, माछा समात्ने र हिलोमा घैटो फुटाउने प्रतियोगिता आकर्षणका केन्द्र बने। कलाकार राजु परियार, शिवहरि ढुंगाना, जीवन दाहाल र तुलसा जिसीले सांगीतिक प्रस्तुति दिएका थिए।

महोत्सवका अवसरमा महानगरपालिकाले ज्ञानबहादुर कार्की र कमला पाल्पाली खड्कालाई ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको थियो। आयोजकका अनुसार कृषि पर्यटन प्रवर्द्धन, परम्परागत धानखेती संरक्षण तथा युवालाई कृषिप्रति आकर्षित गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो।

Copyright © 2024 | All rights reserved.