असार २०, २०८३, शनिबार

पोखरामा ‘घीउ’को नाममा केमिकल बेच्ने उद्योगलाई ५० हजार जरिवाना


Advertisement Image
clock icon 11 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षामा गम्भीर लापरबाही भेटिएपछि पोखरामा सञ्चालनमा रहेको जेनिसा केमिकल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

‘घीउ’का रूपमा बिक्री भइरहेको पदार्थमा उपभोक्ताको स्वास्थ्यमा असर पार्ने केमिकल प्रयोग गरिएको भेटिएपछि जिल्ला अनुगमन समिति, कास्कीले कारबाही गरेको हो।

पोखरा-१७ घारीपाटनस्थित उद्योगमा बिहीबार गरिएको अनुगमनका क्रममा घीउजस्तो देखिने फ्लेवरयुक्त तीन–चार कार्टुन पदार्थ बरामद गरी नष्ट गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

अनुगमन टोलीले उद्योगको बिक्री वितरण तत्काल रोक्का गर्दै सञ्चालक रेशम सुबेदीलाई आवश्यक कागजातसहित सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

उही क्षेत्रमा रहेको विजय फ्रेस बेकरी उद्योगलाई पनि सरसफाइको अभाव, उद्योग नवीकरण नगरेको तथा लेबलविहीन खाद्यवस्तु बिक्रीका लागि राखेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

उद्योगलाई पूर्ण सरसफाइ नगरेसम्म सञ्चालन नगर्न निर्देशन दिइएको छ भने सञ्चालक सोमनाथ अधिकारीलाई सात दिनभित्र प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ।

यस्तै, हिमालय आँखा अस्पतालको क्यान्टिनमा गरिएको अनुगमनका क्रममा सरसफाइ सुधार गर्न र म्याद गुज्रिएका खाद्य सामग्री हटाउन निर्देशन दिइएको छ। एसआर प्याकेजिङबाट बरामद गरिएको घीउजस्तो पदार्थ पनि नष्ट गरिएको छ।

सेलवेज डिपार्टमेन्टल स्टोर्समा पनि म्याद सकिएका खाद्य सामग्री फेला परेपछि ती वस्तु नष्ट गरिएको छ भने स्टोर्स सञ्चालकलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार बिहीबार मात्रै पोखराका १६ वटा उद्योग, पसल तथा व्यवसायमा अनुगमन गरिएको थियो।

अनुगमनमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च कास्की तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

Copyright © 2024 | All rights reserved.