0
प्रतिक्रिया
पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका-१ सिम्पानीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सिम्पानीमा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका-१ घर भई हाल पोखरा-१ कस्केरी बस्ने २१ वर्षीय लुकाश तामाङ, सोही ठाउँका २२ वर्षीय सुवास तामाङ, पर्वत मोदी गाउँपालिका-८ चित्रे घर भई हाल पोखरा-१६ बाटुलेचौर मैदान बस्ने २१ वर्षीय स्वस्तम गुरुङ, पोखरा-१ सिम्पानीका १९ वर्षीय विकास तामाङ, पोखरा-१९ लामाचौरका २५ वर्षीय सन्दिप गुरुङ र माछापुच्छ्रे गाउँपालिका-४ घाचोक घर भई हाल पोखरा-२५ याम्दी बस्ने २० वर्षीय सुमित पुन मगर रहेका छन्।
उनीहरूको साथबाट टापेन्टाडोल ट्याब्लेट आठ सय चक्की, नगद ८ हजार रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
Copyright © 2024 | All rights reserved.