भदौ ०१, २०८३, सोमबार

बाँदर आतंकदेखि राजमार्गको जोखिमसम्म, वडा कार्यालयमा नागरिकका प्रश्नैप्रश्न


Advertisement Image
clock icon 2 hours, 5 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिका-२६ का नागरिकले गाउँमा बढेको बाँदर आतंक, पृथ्वीराजमार्गको बढ्दो जोखिम, सडकबत्तीको अभाव र कुकुरको व्यवस्थापनलगायतका विषयमा स्थानीय वडा सरकारसँग प्रश्न गरेका छन् ।

शनिबार वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले बाँदरले फलफूल तथा तरकारी नष्ट गर्नुका साथै घरका भाँडाकुँडासमेत बोकेर हिँड्न थालेको गुनासो गरे । उनीहरूले बाँदर नियन्त्रणका लागि विशेष पहल गर्न तथा आवश्यक परे हेरालोको व्यवस्था गर्न माग गरे ।

पृथ्वीराजमार्ग स्तरोन्नतिपछि सडक फराकिलो भए पनि मुख्य चोकहरूमा पैदलयात्रुका लागि जोखिम बढेको भन्दै नागरिकले अन्डरपास र आकाशेपुल निर्माणका लागि पहल गर्न माग गरे ।

लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले तीव्र गतिमा आउने सवारीसाधनका कारण जेब्राक्रसिङले समेत यात्रुको सुरक्षा गर्न नसकेको बताए । डुम्रेबाट पोखरासम्मको राजमार्गमा पैदलयात्रुका लागि अन्डरपास वा आकाशेपुल नहुँदा समस्या भएको उनको भनाइ थियो ।

नागरिकले भित्री सडकमा रातको समयमा हिँड्न समस्या हुने भएकाले सडकबत्तीको व्यवस्था गर्न पनि माग गरेका थिए ।

जवाफमा वडा अध्यक्ष नरेन्द्र थापाले सडकबत्तीका लागि ३० लाख रुपैयाँको टेन्डर भइसकेको र उज्यालो वडा कार्यक्रममार्फत समस्या सम्बोधन गरिने बताए ।

राजमार्ग निर्माणका क्रममा सवारी चाप र जनघनत्वको पर्याप्त आकलन नभएकाले अहिले समस्या देखिएको भन्दै उनले सुरक्षित यात्राका लागि आवश्यक उपायबारे आयोजनासँग छलफल गर्ने बताए ।

सार्वजनिक सुनुवाइमा घरपालुवा कुकुरलाई डुलाउने क्रममा अर्काको घरअगाडि दिसापिसाब गराउने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने मागसमेत उठेको थियो ।

अध्यक्ष थापाले टोल विकास संस्थामार्फत घरपालुवा कुकुरको तथ्यांक राखिने बताए । सार्वजनिक जग्गा संरक्षण तथा खाष्टे, गुँदे र न्यूरेनी तालको मापदण्डका कारण जग्गा बिक्री गर्न नपाएको गुनासोसमेत नागरिकले गरेका थिए ।

वडा सदस्य सुदीपराज ढुंगानाले बाँदर आतंक नियन्त्रणका लागि सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्ने बताए । वडा सदस्य तीर्थबहादुर राजभाटले सुकुमवासीका नाममा भएको एक निर्णयका कारण आफूहरूमाथि गलत आरोप लगाइएको गुनासो गरे ।

वडा सूचना अधिकारी नवराज सापकोटाले गत आर्थिक वर्षमा भएका सेवा प्रवाह तथा विकास निर्माणको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइमा वडा सदस्य, वडा सचिव तथा विभिन्न स्थानीय संस्थाका प्रतिनिधिले नागरिकका गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।

Copyright © 2024 | All rights reserved.